श्रीलङ्का – श्रीलङ्कामा गत आइतबार भएको बम बिस्फोटमा मृतकको संख्या बढेर तीन सय १० पुगेको छ । पीडित परिवारले आफ्ना मृत परिवारको अन्तिम संस्कारको तयारी सुरु गरिसकेका छन् ।
यो दर्दनाक स्थितीमा एक चर्चका पादरी फादर स्टेनलीले हमलाअघि कथित हमलाकर्तासँग भएको आफ्नो कुराकानी बीबीसीसँग साझा गरेका छन् ।
कथित हमलाकर्तासँग फादर स्टेनलीको सामना श्रीलङ्काको मट्टकालाप्पु इलाकामा रहेको सियोन चर्चमा भएको थियो । यो चर्चमा २६ जनाको मृत्यु भयो जसमध्ये धेरेजसो बालबालिका थिए ।
‘मैले हमलाकर्तासँग कुरा गरेको थिएँ’
फादर स्टेनली भन्छन्, ‘हाम्रो पेस्टर (पादरी) विदेशमा हुनुहुन्छ । असिस्टेन्ट पेस्टर पनि उपलब्ध थिएनन् । उनले मलाई विभिन्न नयाँ व्यक्तिसँग भेटाएका थिए । सायद कथित रुपमा ती व्यक्तिसँग पनि जसले यो हमला गरेका थिए ।’
‘मैले ती व्यक्तिसँग कुरा गरेको थिएँ । मैले उनलाई चर्चभित्र बोलाएँ । उनले फोनको प्रतिक्षा गरिरहेकाले तत्काल आउन नसक्ने बताए । फोन आउने बित्तिकै उठाउनुपर्ने उनले बताएका थिए ।’
‘उनले कार्यक्रम कहिले सुरु हुन्छ भनेर सोधे’
फादर स्टेनली भन्छन्, ‘हाम्रो अफिस चर्चको ठिक अगाडि छ । उनी त्यही उभिएका थिए । उनले मलाई कार्यक्रम कहिले सुरु हुन्छ भनेर सोधे । मैले उनको प्रश्नको जवाफ दिँदै उनलाई पुनः चर्च भित्र आउन आग्रह गरेँ । हामी सधैं सबैको स्वागत गर्दछौं ।’
‘उनले आफ्नो काँधमा ब्याग बोकेका थिए । अगाडितर्फ क्यामराको ब्यागजस्तो सामग्री थियो । म त्यतिबेला उनको उद्देश्यसँग परिचित थिइनँ । धेरैले यो काम त्यही व्यक्तिले गरेको बताइरहेका छन् ।’
‘कार्यक्रम सुरु हुनेबित्तिकै म भित्र गएँ । त्यसको दुई–तीन मिनेटपछि बाहिर बम बिस्फोट भयो । चर्च भित्र बम बिस्फोट भएन । धेरै बच्चाहरु आफ्नो आइतबारको कक्षापछि चर्च बाहिर पानी पिइरहेका थिए । उनीहरु त्यसपछि मात्र चर्च भित्र आउँथे । ती बच्चालगायत अन्य थुप्रै व्यक्तिहरु चर्च भित्र आइरहेका बेला बम बिस्फोट भयो ।’
बिस्फोटापछि के भयो ?
फादर स्टेनलीका अनुसार चर्च बाहिर बिस्फोट भएपछि चारैतिर कोकोहोलो मच्चियो ।
उनी भन्छन्, ‘बिस्फोटपछि गाडी र जेनेरेटरमा आगो लाग्यो । आगोका कारण हामीले घाइतेहरुको ज्यान बचाउन सकेनौं । हामी केही बच्चाहरुलाई मात्र त्यहाँबाट टाढा राख्न सफल भयौं ।’
त्यसपछि पुनः अर्को धमाकाः
फादर स्टेनलीका अनुसार उनको चर्चमा पहिलो बिस्फोटपछि दोस्रो बिस्फोट पनि भएको थियो ।
उनी भन्छन्, ‘हामीले मानिसलाई बचान निकै कोसिस गर्यौं । त्यसपछि हामीले बिस्फोटको दोस्रो आवाज सुन्यौं र सबैकुरा आगोमा परिवर्तन भइरहेको देख्यौं । त्यसपछि हामी को जिउँदो छ र को बाँचेको छ भन्ने कुरा बिर्सिएर यताउता भाग्न थाल्यौं । यो भागदौडमा मेरी श्रीमती र छोरा हराए । त्यसपछि मैले उनीहरुको खोजी गर्दा उनीहरुलाई अस्पतालमा पाएँ । यो हमलामा थुप्रै निर्दोष र बालबालिकाको मृत्यु भयो । हामीलाई यतिमात्र थाहा छ ।’
तथाकथित इस्लामिक स्टेटले आफ्नो मिडियो पोर्टल ‘अमाक’ मा यो हमलाको जिम्मेवारी स्विकार गरेको छ तर यसको पुष्टि गर्न सकिँदैन किनभने साधारणतया इस्लामिक स्टेटले हमलालपछि हमलाकर्ताको तस्बिर प्रकाशित गरेर हमलाको तुरुन्त जिम्मेवारी लिने गर्दछ ।
श्रीलङ्कामा हमला भएको तीन दिन पछि गरिएको यो दाबी सही हो भन्ने कुनै प्रमाण छैन ।
श्रीलङ्का सरकारले एक स्थानीय जेहादी गुट–नेशन तौहीद जमात– को नाम लिएको छ र अधिकारीले उक्त बिस्फोट कुनै अन्तरराष्ट्रिय नेटवर्कको मद्दतले गराइएको बताएका छन् ।
अहिलेसम्म ३८ जनालाई पक्राउ गरिसकिएको छ । यसमध्ये २६ जनालाई सिआइडीले, तीनलाई चरमपन्थ विरोधी समूहले र ९ लाई पुलिसले पक्राउ गरेको छ ।
पक्राउ गरिएका ९ जनालाई मात्र अदालतमा पेश गरिएको छ । यी ९ जना वेल्लमपट्टीको एउटै कारखानामा काम गर्छन् ।