बैशाख ६ नेकपा नेता एवं सांसद भीम रावललेबालुवाटारस्थित ललितानिवासको ११३ रोपनी जग्गा प्रकरणमा दोषी देखिएकालाई सबैलाई कडा कारवाही गर्न माग गरेका छन् । उनले आज शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जग्गा कब्जा गर्नेलाई कारवाही गर्न माग गरेका हुन् । ललितानिवास जग्गा प्रकरणमा नेकपाकै महासचिव बिष्णु पौडेल पनि मुछिएका छन् । उनको छोराको नाममा सार्वजनिक जग्गा देखिएको छ । बिष्णु पौडेलमाथि नै इंगित गर्दै उनले जग्गा प्रकरणमा मुछिएका जो कोहीलाई पनि कडा कारवाही गर्न माग गरेका हुन् ।

उनले लेखेका छन् “द्धन्द र अस्थिर स्थितीमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भए पनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश , जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो । प्र.म. निवासकै छेउको जग्गा कब्जा गर्ने लगायतलाई कारवाही गर्न सरकार सफल होस” । उनले यसअघि पनि पौडेलमाथि कारवाही हुनु पर्ने माग गरेका थिए । महासचिव पौडेलले सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको स्वीकार गरेका छन्। तर उनले त्यो जग्गा व्यक्तिबाट किनेको बताएका छन्। यता सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने महासचिव पौडेल ठगिएको र उनलाई क्षतिपुर्ति ठगले नै दिनु पर्ने बताएका थिए ।
