२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

विश्वकप खेल्ने पालो सिनियर टिमको, टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक

1346 Shares
Spread the love

काठमाडौं। नेपाली यु–१९ टोलीले हिजो मात्र यु–१९ विश्वकप छनोटको अन्तिम खेल खेल्यो । राम्रो खेल प्रदर्शन गर्दा गर्दै पनि मौसमका कारण नेपाली युवा टोल विश्वकपमा छनोट हुन भने सकेन । युवा टोलीको खेल सकिएसँगै अब सिनियर टोलीले विश्वकप खेल्ने बेला भएको छ । अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप २०२० को दोश्रो खुड्किलोको रुपमा रहेको ‘आइसीसी टि–२० विश्वकप छनौट एसिया फाइनल’ प्रतियोगिताको मिति र खेल तालिका सार्वजनिक भएको छ । आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार एसिया फाइनल जुलाइ २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

नेपालले गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन्न टि–२० विश्वकप छनोट (एसिया पूर्वी) प्रतियोगिताको उपाधि जित्दै एसिया फाइनलमा पुगेको हो । नेपालसँगै दोस्रो भएको सिंगापुर र तेस्रो भएको मलेसिया यो प्रतियोगिता खेल्नेछन् । यस्तै गत वर्ष अप्रिलमा कतारमा सम्पन्न एसिया (पश्चिम) छनौट प्रतियोगिताबाट युएई, कतार र कुवेत एसिया फाइनलको लागि छनोट भएका थिए । अब हुने एसिया फाइनलमा यिनै ६ टिमबीच खेल हुनेछ । यो प्रतियोगिताबाट शीर्ष स्थानमा रहने एकमात्र टोलीले आगामी ११ अक्टोबरदेखि ३ नोभेम्बरसम्म युएइमा हुने विश्वकप छनोट खेल्न पाउनेछ ।
एसिया फाइनलको लागि छनोट भए पनि युएइले भने एसिया फाइनल खेल्न नपर्ने भएको छ । यो वर्ष अक्टोबर ११ देखि ३ नोभेम्बर सम्म युएइमा टि–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायर आयोजना हुँदैछ त्यसैले आयोजकको रुपमा युएई स्वतः प्रतियोगिता खेल्न छनौट भएको छ । एसिया फाइनलमा सहभागी हुने नेपाल, मलेसिया, सिंगापुर, कतार र कुवेत मध्ये विजेता १ टिम टि–२० विश्वकप ग्लोबल छनोटको लागि योग्य हुनेछ ।

आइसीसीले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगितामा सबै टिमले एकअर्का विरुद्ध राउण्ड रोबिन विधिअनुसार १–१ खेल खेल्नेछन् जसबाट अंकतालिकामा विजेता टिम छनोट हुनेछ । प्रतियोगिता २२ जुलाइमा सुरु हुने भए पनि नेपालले भने २३ जुलाइमा कतारसँग इण्डियन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै २४ जुलाईमा मलेसियासँग,  २७ जुलाईमा कुवेतसँग र २८ जुलाइमा सिंगापुरसँग खेल्ने तालिका रहेको छ  । प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ ।

पूरा खेल तालिका 

२२ जुलाई –  सिंगापुर विरुद्ध कतार र कुवेत विरुद्ध मलेसिया

२३ जुलाई – कतार विरुद्ध नेपाल र सिंगापुर विरुद्ध कुवेत

२४ जुलाई – नेपाल विरुद्ध मलेसिया

२६ जुलाई – कतार विरुद्ध कुवेत र सिंगापुर विरुद्ध मलेसिया

२७ जुलाई – कुवेत विरुद्ध नेपाल र मलेसिया विरुद्ध कतार

२८ जुलाई – सिंगापुर विरुद्ध नेपाल

पहिलो खेल स्थानीय समय १० बजे (नेपाली समय पौने ८ बजे) र दोश्रो खेल स्थानीय समय साढे २ बजे (नेपाली समय सवा १२ बजे) सुरु हुनेछ।

यस्तो हुनेछ नेपालको विश्वकप यात्रा

टि–२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शीर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालिफायर खेल्न छनोट हुनेछ । ग्लोबल क्वालिफायर युएइमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म आयोजना हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टिम सहभागी हुनेछन् । ग्लोबल क्वालिफायरका लागि स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हङकङ, ओमान, आयरल्याण्ड र आयोजक युएइ छनोट भइसकेका छन् । बाँकी ७ टिम क्षेत्रीय प्रतियोगिताबाट आउनेछन् । यी १४ टिमबीच हुने ग्लोबल क्वालिफायरमा शीर्ष स्थानमा रहने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया