बैशाख ५- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बर्तमान सरकारबाट जनताले हत्या हिंसा र आतंक उपहार पाएको बताएका छन् । कैलालीको धनगढीमा नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले जनताको मर्म अनुसार काम गर्ने पार्टी कांग्रेस मात्र भएको दाबी गर्दे भने “दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्कको उपहार पाएका छन् ।
कम्युनिष्ट पार्टीका नेताहरु झुटा आश्वासन दिएर मात्रै भोट माग्छन् । जनताको मर्म अनुसार काम गर्ने एक्लो पार्टी कांग्रेस मात्र हो” । उनले भ्रष्ट कम्युनिष्ट नेताहरु देशको नै नचाहेको बताउँदै उनले बर्तमान सरकारबाट जनता आजित बनेको बताए। सरकारले प्रेस स्वतन्त्रताको समेत हनन गरेको भन्दै सरकारले पत्रकारको कलम नै बन्द गरेर अधिनायकवादतिर लम्केको उनको भनाई छ ।