२०८३, १० कार्तिक सोमबार
×

जेट एयरवेजका सबै उडान स्थगित

1217 Shares

बैशाख ५ – चरम आर्थिक संकट झेलिरहेको भारतीय वायुसेवा प्रदायक जेट एयरवेजले अन्तत: आफनो सबै उडान स्थगित गरेको छ । लामो समयदेखि आर्थिक संकट झेलिरहेको कम्पनीले आफनो उडानहरु कटौती गर्दे आएको थियो तर हिजोबाट उसले आफनो सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो । जेटले गत शुक्रबारै सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो। भारतकै ठूलो एयरलाइन्समध्येको एक एयरलाइन्सको रुपमा रहेको जेट एयरवेजलाई सरकारले पनि बचाउन पहल नगरेको कारण यस्तो अवस्था आएको भन्दै टिकाटिप्पणी पनि भईरहेको छ । आर्थिक संकट कै कारण कर्मचारीहरुले तलब नपाउदा उनीहरु पनि आन्दोलित हुँदै आएका थिए । इन्धन किन्ने, कर्मचारी र लिजिङ कम्पनीलाई दिने तलबका निम्ति समेत बजेट नभएपछि जेट एयरवेजका जहाज ग्राउन्डेड भएका हुन्।

एक सय बढी जहाजबाट दैनिक ६ सय आन्तरिक र ३ सय ८० भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सले पछिल्लो समय १४ वटा जहाज मात्र उडाइरहेको थियो। जेट एयरवेज एक अर्ब डलर ऋणमा रहेको बीबीसीले जनाएको छ । जेट एयरवेज २५ वर्षअघि भारतीय व्यापारी नरेश गोयलले स्थापना गरेका हुन्। जेटमा अहिले उनको परिवारको ५२ प्रतिशत सेयर हिस्सा छ। जेटमा कुल २३ हजार कर्मचारी रहेको बिबिसीमा उल्लेख छ।जेटका एक सय २३ जहाज रहे पनि सबैले उडान भने नगरेको बताइएको छ।  कम्पनीले एक विज्ञप्ति जारी गर्दे हाल आर्थिक व्यवस्थापनका लागि जुटिरहेको भन्दै उसले चाडै नै सेवामा फर्कने आसा व्यक्त गरेको छ ।

प्रतिक्रिया