एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई सात विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
एम चिदामबराम क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको एक सय ९ रनको सामान्य लक्ष्य चेन्नईले १७.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नईको जितमा फाप डु प्लेसिसले अविजित ४३ रन बनाए । अम्बाती रायाडुले २१, सेन वाट्सनले १७, सुरेश रैनाले १४ र केदार जादबले अविजित आठ रन बनाए । बलिङमा कोलकत्ताका सुनिल नारिनेले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८ रन बनाएको थियो । चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ५० रन बनाए । कप्तान दिनेस कार्तिकले १९ र रोबिन उथप्पाले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङमा चेन्नईका दीपक चाहरले तीन विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान दुई/दुई विकेट लिए । कोलकत्तालाई हराएसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले १० अंक बनाएको छ । आठ अंक बनाएको कोलकत्ता दोस्रो स्थानमा छ ।