काठमाडौं – झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए ।
करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वानुमान लगाए । तर, धेरै गम्भीर रुपमा लिएनन् किनभने उनले कतै उजुरबाजुर गरेका थिएनन् ।मंगलबार उनले खुलाए, ‘दुई सातादेखि धम्की मिश्रित फोन आइरहेको छ । तँलाई मार्न ५० लाख रकम दिइसकेको छु । अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर आउने गरेको छ, एउटा आवाजबाट मलाई धम्की दिइन्थ्यो भने अर्को आवाजबाट मलाई मार्न पैसा दिएकाले सचेत हुन भनिन्थ्यो’, लिङ्देनले भन्छन् ।
उनका अनुसार काठमाडौंमै भएका वेला त्यो फोन आएपछि उच्च प्रहरी अधिकारीसँग छलफल पनि गरेका रहेछन् । यद्यपि, लिखित उजुरी भने दिएनन् ।प्रहरीले सुक्ष्म अनुसन्धान थाल्यो । त्यसक्रममा झापाबाट एक जना व्यक्ति पनि पक्राउ परेका छन् । तर, उनले किन लिङ्देनलाई त्यसरी फोन गरे भन्ने खुलेको छैन ।
दुई जनाको स्वरमा फोन गरिए पनि दुवै व्यक्ति एकै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनामा अन्यको पनि संलग्नता हुने आशंकामा अनुसन्धान भइरहेको छ ।अन्य व्यक्ति पक्राउ परेपछि मात्रै लिङ्देनलाई दिइएको धम्कीबारे थप खुल्ने प्रहरी बताउँछ ।
यसैबीच राप्रपाले पार्टीका महामन्त्री एवं संघीय संसदका सांसद लिङ्देनलाई अमुक व्यक्ति वा समुहबाट रकम लिइसकेको बताउँदै ज्यान मार्ने धम्की दिएको घटनालाई राप्रपाले अत्यन्तै गम्भीरतापूर्वक लिएको जनाएको छ।
मंगलबार जारी बिज्ञप्तिमा ‘आपराधिक कार्यमा संलग्नहरुले योजनाबद्ध ढंगबाट श्रृङखलागत रुपले सतर्कतापूर्वक धम्की दिइरहेको घटनाको सन्दर्भ पैसासँग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने’ जनाइएको छ।‘घटनाको मिहिन ढंगबाट छानबिन गरि पक्राउ परेका व्यक्तिबाट सत्यको उजागर गर्न, वास्तविक दोषी पत्ता लगाउन घटनाको जरासम्मै पुगेर अनुसन्धान गर्ने कार्यलाई निरन्तरता दिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पनि’ राप्रपाले माग गरेको छ।