एजेन्सी। भारतीय महिला टि–२० क्रिकेट टोलीकी कप्तान हर्मनप्रित कौरको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई दिने भनिएको सम्मानार्थ डिएसपीको पद गएको छ । पंजाब प्रहरीले उनको बीएको प्रमाणपत्र पुष्टिको लागि मेरठको चौधरी चरण सिंह विश्वविद्यालय पठाएको थियो । जाँचपछि उनको बीए फाइनलको मार्कसिट नक्कली पाइएको छ । विश्वविद्यालयमा उनको मार्कशिटको कुनै रेकर्ड छैन । विश्वविद्यालयले आफ्नो रिपोर्ट पंजाब प्रहरीलाई पठाएको छ ।
सिसिएस विश्वविद्यालयका रजिष्ट्रार जीपी श्रीवास्तवले हरमनप्रितले पंजाब प्रहरीमा पेश गरेको बीए फाइनलको प्रमाणपत्र नक्कली भएको बताए । हर्मनप्रितले यो विश्वविद्यालयबाट २०११ मा बिए पास गरेको प्रमाणपत्र पेश गरेकी थिइन् । श्रीवास्तवले भने ‘मार्कसिटमा उल्लेखित सिरियल नम्बर र नामांकन संख्या हाम्रो रेकर्डमा छैन ।’
उता पंजाबको मोहालीमा गिनिज वल्र्ड रेकर्डको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेकी हर्मनप्रितले नक्कली प्रमाणपत्रको विषयमा सोधिएको प्रश्नमा कुनै प्रतिक्रिया दिइनन् । कार्यक्रममा मिडियाकर्मी आएको देखेपछि उनी आफ्नो वेनिटी भ्यानभित्र गएर बसिन् । पछि आयोजकले मिडियाकर्मीहरुलाई हर्मनप्रितले कार्यक्रम सकिएपछि उनीहरुको प्रश्नको जवाफ दिने भन्दै कार्यक्रमभर यस विषयमा केही नसोध्न राजी गराए । तर पछि पनि उनले प्रमाणपत्र सम्बन्धी प्रश्न टारिदिइन् ।