काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्र संघद्धारा अमेरिकामा आयोजित शान्ति सेनासम्बन्धि मन्त्रीस्तरीय बैठकमा सहभागी भई स्वदेश फर्किएका छन् । उपप्रधानमन्त्री पोखरेल अमेरिकाको नियोर्कमा आयोजित संयुक्त राष्ट्र संघद्धारा आयोजित शान्ति सेनासम्बन्धि मन्त्रीस्तरीय बैठकमा सहभागी भई मंगलबार अपरान्ह स्वदेश फर्किएका हुन् ।
त्यस क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति स्थापना कार्यका लागि १० हजारसम्म नेपाली सुरक्षाकर्मी परिचालन गर्ने नेपालको योजनाबारे संयुक्त राष्ट्र संघलाई जानकारी गराइएको बताए ।
उनले शान्ति स्थापनाको नेतृत्वदायी भूमिकामा नेपाली सेनालाई राख्न पनि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग आग्रह गरिएको पनि बताए । उपप्रधानमन्त्री पोखरेलले बैठकका क्रममा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस, उपमहासचिव अतुल खरेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी नेपाली सेनाले संकटग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानका विषयमा छलफल गरेका थिए ।
उनले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले नेपाली सेनाले संकटग्रस्त क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा पनि गरेको जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले अमेरिका बसाईको क्रममा त्यहाँस्थित नेपाली समुदायसँग पनि छलफल गरेका थिए ।
हालसम्म संयुक्त राष्ट्र संघको शान्ति मिसनमा १ लाख ४० हजार नेपाली सेना परिचालन भईसकेका छन ।
