काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको चर्चाले बजार तातिरहेका बेला सत्तारुढ दलका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि सीता दाहालको उपचारका लागि अमेरिकामा थिए । यहीबीचमा प्रधानमन्त्रीका सल्लाहाकारहरुले विभिन्न सञ्चारमाध्यमहरुसँग तत्कालन मन्त्रिपरिषद पुर्नगठर्न नहुनेसमेत बताइरहेका छन् ।
तर, बुधबार अमेरिकाबाट फर्केका प्रचण्डको एकाएक बढेको सक्रियताले सरकार तथा सत्तारुढ दलमा केही ‘खिचडी पाक्न लागेको’ आभास भएको छ । शुक्रबार प्रचण्डले गरेको तिब्र राजनीतिक भेटघाटले पनि नेकपाको एकीकरण प्रक्रिया र मन्त्रिपरिषद् पुर्नगर्ठनबारे केही हुन लागेको आशंकालाई बल पुगेको छ ।
शुक्रबार प्रचण्डले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा नेता तथा उद्योग वाणिज्य मन्त्री मातृका यादव र सभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।
नेता नेपाल, गौतम र श्रेष्ठसँगको भेटले प्रधानमन्त्री ओलीकै विरुद्ध केही हुन लागेको होकी भन्ने आशंका उब्जेको छ । नेता नेपाल, गौतम र श्रेष्ठले प्रधानमन्त्री ओलीको आलोचना गर्दै आएका छन् ।
यी नेताहरुले ओलीबाट सरकार र पार्टी सञ्चालन राम्रोसँग नभएको भन्दै आलोचना गरिरहेका छन् । गौतम त ओलीप्रति निकै रुष्ट छन् भने नेता नेपाल पनि ओलीप्रति रुष्ट छन् । श्रेष्ठले पनि बेला बेला ओलीको आलोचना गर्दै आएका छन् ।
ओली मन्त्रिपरिषदकै सदस्य मन्त्री यादव र प्रधानमन्त्री ओलीबीच पछिल्लो समय कटुता बढेको शुक्रबार राजधानीमा शुरु भएको लगानी सम्मेलन उद्घाटन कार्यक्रममा मन्त्री यादवलाई गरिएको ‘अपमान’ पनि बल मिलेको छ । उद्योग र वाणिज्यमन्त्री नै लगानी सम्मेलनको उद्घाटन सत्रमा अतिथि बन्न नपाएपछि प्रधानमन्त्री र मन्त्रीबीच राम्रो सम्बन्ध नरहेको सतहमा आएको हो ।
शुक्रबार प्रचण्ड निवास खुमलटारमा सबैभन्दा पहिला मन्त्री यादव पुगेका थिए । उनले साढे ७ बजेबाट ८ बजेर ५ मिनेटसम्म प्रचण्ड निवासमा बिताएको उच्च स्रोतले बताएको छ । उनीहरुबीच के कुरा भयो भन्ने सार्वजनिक नगरिए पनि प्रधानमन्त्री ओली र मन्त्री यादवबीच बढेको दुरीका विषयमा छलफल भएको स्रोतको छ ।
स्रोतका अनुसार मन्त्री यादव र प्रधानमन्त्रीबीच औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा विवाद बढेको छ । संसद सचिवालयमा यही नाममा दुई वटा विधेयक दर्ता भएको जनाइएको छ ।
मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको विधेयकमा व्यापक हेरफेर भएको भन्दै मन्त्रालयले संसद सचिवालयमा छुट्टै विधेयक दर्ताका लागि पठाएको छ । यही नाममा मन्त्रिपरिषद्बाट स्वीकृत अर्को विधयेक पनि सचिवालयमा दर्ता रहेको सचिवालय स्रोतले जनाएको छ । मन्त्री यादवले अध्यक्ष प्रचण्डसँग यो विषयमा पनि कुरा गरेको जनाइएको छ ।
वरिष्ठ नेता नेपाल, गौतम, श्रेष्ठले सामुहिक भेटवार्ता गरेका हुन् । शुक्रबार अपराह्न सवा ४ बजे नेताहरु प्रचण्ड निवास पुगेका थिए । उनीहरु ६ बजेपछि खुमलटारबाट बाहिरिएका थिए । सो भेटमा सभामुख महारा पनि सहभागी थिए ।