हिजोमात्र विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको थियो । सो उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको थियो । रञ्जु दर्शना सहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएका थिए । यता रञ्जु दर्शनासहितको टोलीले उजुरी दर्ता गरेपछि खानेपानी मन्त्री बिना मगरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकीछिन् । एक विज्ञप्ति जारी गर्दे उनले आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दर्ता गरेको उल्लेख गरेकीछिन् । नेपाली जनताकै प्रतिक्षा ,प्रतिष्ठा र गौरवको आयोजना भएको मेलम्चीमा गलत मनसायका साथ गरिएको प्रचारप्रति उनले दुख व्यक्त गरेकीछिन् ।

उनले आफनो कार्यकालमा नै मेलम्चीको सुरुङ निर्माण सम्पन्न भएको , अधिकांश काम सम्पन्न भएको , आयोजनाको केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महिना पहिले हात झिक्दा समस्या भएको मन्त्री मगरको स्पोक्ति रहेको छ । उनले ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जानकारी आएको भन्दै आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यस विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था समेत नभएको उनको भनाई छ । उनले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारी बताईन् ।

आयोजनाको कुनै प्रस्ताव मन्त्रीपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उनले प्रसंग नै नभएको विषयमा आफुलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको भएको बताईन् । आफुले मन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै मेलम्चीको काम दु्रत गतिमा अगाडी बढेको उनको दाबी छ । ठेकेदार कम्पनिले हात झिक्नुको पछाडिको मूख्य कारण सिएमसी कम्पनि नै आर्थिक रुपमा टाट पल्टनु रहेको र आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजनाको काम छाडेर ठेकेदार कम्पनीले सम्झौता रद्द गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “कुनै पनि आयोजना निर्माणको आफ्नै मान्यता हुन्छ” ।

“ती कानूनी मान्यता नाघेर हामीले कुनै अवैधानिक निर्णय लिन सक्दैनथ्यौं र लिएनौं पनि । यो हाम्रो नियत वा क्षमताको प्रश्न नभएर राज्यद्वारा निर्देशित ऐन, कानूनहरुप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको सङ्कल्प हो । यसमा म दृढ छु, सधैं दृढ रहनेछु ।’ ‘म आफै जनताको मुक्ति सुशासन, समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न कठोर सङ्घर्षबाट आएको व्यक्ति हुँ । न्याय, समानता, विकास, सुशासन र समृद्धिका लागि मैले पनि जेलनेल र कठोर यातनाको अनुभूति होइन, अनुभव गरेको छु । ‘राजनीति जनताका लागि, जनताको सेवाका लागि’ यो मेरो मुलमन्त्र हो र यसमा सधै अडिग रहन्छु ।”

मन्त्री मगरले रञ्जु दर्शनाले आफनो चरित्र हत्या गरेको गुनासो गर्दे विज्ञप्तिमा भनिएको छ “मेलम्ची आयोजनामा मैले अनियमितता गरेको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु । यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’‘मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ । मेलम्ची आयोजनामा मन्त्रीका हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने सरकारी निकाय छन्, तिनको आफ्नै विधि र प्रक्रिया छ, म सधैं त्यसको पक्षमा छु र रहन्छु ।”