पाकिस्तानमा होलीको पुर्वसन्ध्यामा १३ र १५ बर्षका रबीना र रीना नाम गरेकी दुई हिन्दु किशोरीको अपहरणपछि जबरजस्ती धर्म परिवर्तन गराएको घटनाले यतिबेला भारत पाकिस्तानबीच फेरी वाक युद्ध सुरु भएको छ । ती किशोरीहरुलाई अपहरण गरी बिवाह गरेको बताईएको छ । उता बिवाहपछि सार्वजनिक भएको भिडियोमा ती किशोरीहरुले स्वइच्क्षाले इस्लाम स्वीकार गरेको बताएका छन् । यता भारतले भने त्यस घटनाको जानकारी पाकिस्तानस्थित आफना अधिकारीहरुसंग माग गरेको छ । बिदेश मन्त्री सुष्मा स्वराजले २ किशोरीको अपहरण भएको र तीनलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाईएको बारेमा पाकिस्तानस्थित राजदूतसंग जानकारी मागेकी हुन् ।
जुन घटना पाकिस्तानको सिन्ध प्रान्त र पञ्जाब प्रान्तमा भएको हो । यता धर्म परिवर्तनको घटना सार्वजनिक भएसंगै इमरान खानले पनि उक्त घटनाको छानबिनका लागि निर्देशन समेत दिईसकेका छन् । यता उक्त बिषयमा भारतले चासो राखेपछि विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानका सूचनामन्त्री फवाद हुसेन चौधरीबीच ट्वीटरमा घमासान नै परेको छ । चौधरीले पाकिस्तानको कानुन कुरानमा आधारित भएपनि सबै धर्मावलम्बीहरुलाई सम्मान गर्ने गरेको बताएका छन् । उनले पाकिस्तानी झण्डामा रहेको सेता रंगले अल्पसंख्यकको प्रतिनिधित्व गर्ने गरेको र अल्पसंख्यकहरुको लागि पाकिस्तानले सरकार कुनै भेदभाव नगरेको बताए ।

उनले हिन्दुधर्मबारे नकरात्मक टिप्पणी गर्ने सिनियरमन्त्रीलाई पदबाट हटाएको समेत उदाहरण दिँदै पाकिस्तानमा सबै धर्मलाई सम्मान हुने गरेको बताए । भारतले पाकिस्तानलाई त्यहाँ रहेका हिन्दुहरुलाई अन्याय गर्ने गरेको , जबरजस्ती धर्म परिवर्तन गराउने गरेको जस्ता आरोपहरु लगाउँदै आएको छ। यसबारेमा पनि चौधरीले भारतीय विदेशमन्त्रीलाई अर्काको देशको भन्दा आफना देशका अल्पसंख्यकबारे सोच्न आग्रह गरेका छन् । उनले पाकिस्तानमा रहेका सबै नागरिकलाई समान अधिकार प्रदान गर्दै आएको दाबी गर्दे उनले भारतले आफनो देशको अल्पसंख्यकहरुको स्थितिमा सुधार गर्न सुझाव दिए ।
त्यसो त मुस्लिम देश भएकै कारण पाकिस्तानमा रहेका अल्पसंख्यक हिन्दुधर्मालम्बी जनतामाथि अन्याय हुने गरेको आरोप लाग्दै आएको छ । हिन्दुहरुलाई पाकिस्तानमा थिचोमिचो हुने गरेको र जबरजस्ती धर्म परिवर्तन गराउन लगाईने गरेको जस्तो आरोप पाकिस्तानलाई लाग्दै आएको छ । बिषेशगरी पाकिस्तानमा रहेका हिन्दुहरुलाई भारत समर्थक भएको भन्दै अन्याय गर्ने गरेको बताईन्छ । यद्धपी पाकिस्तानमा बिस्तारै बिस्तारै हिन्दु जनताहरुका लागि पनि अवसर , समान अधिकार लगायतका कुराहरुमा सुधार हुँदै आएको पाकिस्तानले दाबी गर्दे आएको छ ।