२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विप्लवका प्रभावशाली नेता ओली पक्राउ

1181 Shares
Spread the love

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ। ओलीलाई हिजो (शुक्रबार) राति काभ्रेबाट पक्राउ गरिएको हो । उनी पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्जका रुपमा कार्यरत थिए ।

ओलीलाई विप्लवसमूहले नख्खुमा गराएको बम विस्फोटका मुख्य योजनाकारका रुपमा लिएर प्रहरीले खोजी अभियान चलाएको थियो ।

सरकारले गठन गरेको वार्ता टोलीसँग वार्तामा नआएको विप्लवसमूहका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेताहरु पनि गाउँ छिरेका छन् भने, प्रहरीले उनीहरुको खोजीलाई तीव्र पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गदै हिंसा र ध्वंसात्मक गतिविधि छोडन आग्रह गर्दै आएका छन् । उनले ध्वंसात्मक गतिविधि सञ्चालन गर्ने समूहलाई कानूनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारबाही थालेको हो ।

सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ ।

नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकोसमेत उनले बताए ।

प्रतिक्रिया