२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

इतिहास रच्न नेपाली चेली भारतविरूद्ध भिड्दै

2274 Shares
Spread the love

काठमाडौं– नेपालाई शुक्रबार पहिलो पटक घरेलु मैदानमा इतिहास रच्ने अवसर प्राप्त भएको छ। पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले गरेको प्रगती र अन्तर्राष्ट्रिय क्षेत्रमा मारेको फड्कोले यसलाई सहज बनाउने छ।

विराटनगरको सहिद रंगशालामा हुने साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामू पहिलो पटक उपाधि जित्ने अवसर सँगै नेपाली महिला फुटबलमा सुखद दिनको सुरूवातसमेत हुनेछ।

साविक विजेता भारतसँग चौथो पटक उपाधि भिडन्तमा उत्रिने नेपालले पाँचौं साफ महिला च्याम्पियनसिपमा भारतलाई हराएको खण्डमा उपाधि घरमै राख्नेछ।

अघिल्ला चारै संस्करणको विजेता रहेको भारतले नेपाललाई कम भने आँकेको छैन।

घरेलु दर्शकको हौसला र आफ्नै भूमिमा नेपालले भारतलाई पराजित गर्दै इतिहास रच्ने तयारीको साथ मैदान उत्रिदै छ। उपाधि मात्र होइन, भारतलाई साफ च्याम्पियनसिपमा कुनै पनि टिमले हराउन सकेको छैन।

साफ च्याम्पिनसिपमा एक्लो रेकर्ड बनाएको भारतले पाँचौं उपाधिका लागि नेपालसँग भिड्दैछ । यसअघि भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई समूह चरणमा २–१ ले हराउँदै फाइनल पुगेको थियो।

त्यसअघि म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो। तीनै खेल १–१ को बराबरीमा सकिएपछि नेपाली टोली इतिहासमा पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको थियो। यस क्रममा नेपालले भारतविरूद्ध बराबरी खेलेको थियो।

भारतविरुद्ध पछिल्लो दुई खेलमा नेपाल अपराजित रहेको नेपाल आज उच्च मनोबलसहित आज फाइनलमा उत्रदैछ।

नेपालले सेमिफाइनलमा श्रीलङ्कालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

यसअघि समूह चरणमा नेपालले भुटान र बङ्गलादेशलाई समान ३–० गोल अन्तरले हराएको थियो। यता भारतले बङ्गालदेशलाई ४–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। समूह चरणमा उसले माल्दिभ्सलाई ६–० र श्रीलङ्कालाई ५–० गोलले पराजित गरेको थियो ।

साफ च्याम्पियनसिपको इतिहासलाई फर्केर हेर्दा नेपालले भारतबाहेक अन्य टोलीसँग पराजय भोग्नुपरेको छैन। नेपालले यसअघिको चार संस्करणमा तीन पटक उपविजेता बन्दै र पछिल्लो पटक सेमिफाइनलमा घर फर्कंदा भारतसँग नै पराजित हुन पुगेको थियो।

प्रतिक्रिया