एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा बार्सिलोनाले बेटिसमाथि शानदार जित निकालेको छ । बेटिसको घरूलु मैदान अवे मैदानमा भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४-१ गो अन्तरले पराजित गरेको हो ।
बर्सिलोनालाई शानदार जित दिलाउनका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने स्वारेजले १ गोल र एक असिस्ट गरे । पराजित बेटिसका लागि लोरेन मोरनोले १ गोल गरे ।
खेल सुरु भएको १८ औँ मिनेटमा कप्तान मेस्सीले फ्रि किकमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले झन्डै २० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गरे। पहिलो हाफको इन्जुरी समयमा मेस्सीले अर्को गोल थपे । स्वारेजले बक्सभित्रबाट दिएको पासमा मेस्सीले सहजै गोल गरे । पहिलो हाफमा एक मिनेट थपिएको थियो ।
पहिलो हाफमा २-० गोलले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो भने बेटिसले एक गोल गर्यो । खेलको ६३औं मिनेटमा स्वारेजले गोल गर्दै अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ८२औं मिनेटमा घरेलु टोली बेटिसका लागि मोरनोले गोल गर्दै खेल १–३ बनाए । तर मेसीले त्यसको तीन मिनेटमा नै गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले १–४ ले जित्यो । उनको यो ह्याट्रिकसँगै ला लिगामा ३३ औं ह्याट्रिक हो ।
यससँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले २८ खेलबाट कुल ६६ अङ्क बनाएको छ । यता, पराजित बेटिस भने समान खेलबाट ३९ अङ्क बनाउँदै लिगको आठौँ स्थानमा यथावत् रहेको छ ।