काठमाडौं– साविकको विजेता भारत समूह बीको विजेता बन्दै महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ५–० गोलले हराउँदै भारत समूह विजेता बनेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकाविरुद्धको फराकिलो जितसँगै भारत समूहमा ६ अंक जोडेर समूह विजेता बनेको हो । पराजित श्रीलंका तीन अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भारतले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ । बंगलादेश समूह ‘ए’ को उपविजेता हो । श्रीलंकाले समूह ‘ए’ को विजेता नेपालसँग खेल्नेछ ।
श्रीलंकाविरुद्ध एकतर्फी जितमा भारतका लागि दाङमेई ग्रेस, सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान, संगिता बास्फोरे र रतन बाला देवीले एक–एक गोल गरिन् । भारतले पहिलो हाफमै चार गोल गरेको थियो । पहिलो हाफको तेस्रो मिनेटमै सन्ध्या रंगनाथनको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
सातौं मिनेटमा सन्जु यादवको पासमा सन्ध्याले गोल गर्दै भारतको अग्रता दोब्बर बनाईन् । ३६औं मिनेटमा इन्दुमतिले तेस्रो गोल गरिन्् । ४५औं मिनेटमा संगिताले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा भारतलाई ४–० को अग्रता दिलाईन् । ४७ औं मिनेटमा बाला देवीले गोल गरेपछि भारतले फराकिलो जित निकालेको थियो ।