एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पहिलोपटक भिटो (विशेषाधिकार) प्रयोग गरेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा बलियो पर्खाल लगाउनका लागि रकम जोहो गर्ने उद्देश्यले आपतकाल लागु गर्ने आफ्नो निर्णयको विपक्षमा अमेरिकी कंग्रेस (संसद) जाने भएपछि उनले भिटो प्रयोग गरेका हुन् ।
आफ्नो चुनावी अभियानको मुख्य वाचा नै सीमा क्षेत्रमा पक्की पर्खाल बनाउने भन्ने थियो । तर सो विषयमा विपक्षी पार्टी र कतिपय सत्तारुढ पार्टीकै सिनेटर (सांसद)ले विरोध जनाएपछि उनले आपतकाल लगाएरै भए पनि पर्खाल ठड्याइछाड्ने घोषणा गरेका थिए ।
तर त्यहाँको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति ट्रम्पद्वारा घोषित राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेपछि ट्रम्पल भिटो प्रयोग गरेका बताइएकोे छ । यसको अर्थ अब मेक्सिकोसँगको सीमा क्षेत्रमा आपतकाल लागु हुने निश्चित भएको छ ।
बिहीबार कंग्रेसले ट्रम्पको सो संकटकाल लगाउने निर्णयको विपक्षमा आएको प्रस्ताव पारित गरेको थियो । जुन प्रस्तावको पक्षमा सत्तापक्षधर पार्टी रिपब्लिकनका १२ सांसद पनि थिए । ती रिपब्लिकन सांसदहरुले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पमा अप्ठ्यारोमा परेका थिए ।
विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विज्ञहरूलाई उद्धृत गरी भनेका छन्, ‘रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ ।’
त्यसलगत्तै ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब भिटो प्रयोग गरेरै भए पनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका थिए । उनले यस मामिलामा भिटो प्रयोग गरेर सीमा पर्खालका लागि आफ्नो प्रतिबद्धता स्पष्ट पारिसकेका पनि छन् ।
तर विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभामा फेरि ट्रम्पको भिटो कदमलाई पनि उल्ट्याउने प्रयास हुनेछ । डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताएका छन् । राष्ट्रपति ट्रम्पले प्रयोग गरेको भिटो रद्द गर्नका लागि कंग्रेसका दुवै सदनमा अब दुई तिहाई मत चाहिन्छ, तर यो सम्भव देखिँदैन ।
राष्ट्रपतिमा निर्वाचित भएयता पहिलोपटक भिटो प्रयोग गरेका ट्रम्पले शुक्रबार भनेका थिए, ‘राष्ट्रपतिको रुपमा देशको सुरक्षा नै मेरो सर्वोच्च जिम्मेवारी हो, म आफ्नो वाचामा अडिग छु ।’ तर कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदम गलत रहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।