चैत्र १- ओली सरकार केही मन्त्रीहरुको कामकारवाहीमा चित्त नबुझेपछि मन्त्री मन्डल हेरफेर गर्ने तयारीमा रहेको खबर बाहिरिरहेको छ । यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफु मन्त्री पदमा नरहने संकेत गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो संकेत दिएका हुन् । उनले निकै भावुक मुद्रामा सम्बोधन दिए । आफू मन्त्री नरहे पनि जनताले दिएको चार वर्षको म्याद अझै बाँकी रहेको भन्दै उनले सांसद भने रहिरहने बताए ।
उनले भने “तपाईंहरूले हेर्नुभएको होला पहिलेको मातृका अब छैन क्या । पहिलेको मात्रै अब छैन । तर एउटा कुरो अहिलेसम्म कतै गडबड गरेको छैन । कतै गडबड गरेको पाउनुभयो भने म सजाय भोग्न तयार छु । कुनै ठाउँमा गडबड गरेको देखाइदिनुस्, म सजाय भोग्न तयार छु । गर्न नसकेको हो म स्वीकार गर्छु, तर गडबड मैले कतै गरेको छैन । बरु मर्न तयार हुन्छु, तर म गडबड गर्ने मान्छे होइन । तपाईंलाई मेरो हिस्ट्री थाहा छ ।म आफैँ बनेको होइन । म जे छु, त्यसमा धेरै जनताको लगानी छ” ।

“धेरै ट्रस्ट गरेर आफ्नो ज्यान गुमाएर पनि मलाई बचाएको हो । त्यत्तिकै म आज तपाईंहरूको बीचमा उभिएको छैन । मेरो एउटै आग्रह के छ भने, आज म एकदमै भावुक छु, हेर्नुस् । हामी सबै मिलौं । म भन्ने देखइदिनुस् । आफू भित्रको ममा यस्तो छ भन्ने पनि देखाइदिनुस् । कहाँ–कहाँ के क्षमता छ, देखाइदिनुस् । हामीभित्र कहाँ– कहाँ शंका छ, के छ त्यो हटाऔं । रूपान्तरण हौं र बहस गरौं । मैले निजी सचिवज्यूलाई भनिसक्या छु । लगानी सम्मेलनपछि म मन्त्री भएपनि नभएपनि हामी एउटा वृहत भेला गरौं “। उनले भावुक हुँदै भने ।
मन्त्री यादवको भावुक सम्बोधनः-
हाम्रा कर्मचारीहरू थुनिएका थिए, कालिमाटी तरकारी बजारमा । प्रहरीलाई भन्छु, गएको छैन हेर्नुस् । मतलब नै छैन । डीजीसावलाई पठाएँ । सबै कर्मचारीलाई पठाएँ । आफ्नो निजी सचिवालयलाई पठाएँ । सचिवलाई भनें– ‘तयार हुनुस् त म पनि आउँदै छु । भन्दिनूस् सीडीओसापलाई म पनि आउँछु भनेर । अनि खुरुखुरु सबै गए । तुरुन्तै मान्छे पनि समातियो । स्थिति कस्तो छ के ! त्यसैले मैले भनें नि, एउटा तेल कम्पनीमा गएँ विरगञ्ज निम्बसमा । त्यसमा पनि कति नेतालाई ठूलो चोट लाग्न थाल्यो । ठूल्ठूला नेतालाई चोट लाग्न थाल्यो । हामीले चाहिँ कसरी अगाडि बढ्ने के ?
आलोचना त गर्नुस् । म तपाईंका आलोचना गर्छु, तपाईं मेरो अलोचना गर्नुस्, तर मेरो अवस्था पनि बुझिदिनुपर्यो । तपाईंहरूको कुरा पनि हामीले बुझिदिनुपर्ने हुन्छ । मैले त भनें– तपाईंहरू जानुस्, अुनगमन गर्नुस् । कसले रोकेको छ भनेर मैले भनें नि त । हाम्रा कर्मचारीलाई त घेरेर कुट्छन भने ! बेलाबेलामा त्यो पनि भएको छ नि त । त्यो कसरी हामीले गर्ने ?स्वतः अनुगमन त रामराज आएपछि मात्रै हुन्छ के, त्रेता युगमा । अहिलेको यो त कलियुग हो । म त्यसमा विश्वास गर्ने मान्छे त होइन तर कलियुग भन्छन् नि त । स्वतः त रामराज आएपछि मात्रै हुन्छ । मैले सुन्या हिसाबले, मैले देखेको त हैन । स्वतः अुनगमन त हुँदै हुँदैन ।
स्वतः अुनगमका लागि त राज्य नै चाँहिदैन । राज्य किन चाहिएको छ, बदमासी गर्नेलाई तह लगाउनलाई । जब राज्य नै बदमासी गर्नेलाई संरक्षण गर्छ भने अपराध हुन्छ । राज्य पनि दुई किसिमको हुन्छ, एउटा अपराधीहरूको राज्य हुन्छ, एउटा अपराधको विरुद्धमा राज्य हुन्छ । सबै राज्य चाहिँ अपराधीको विरुद्धमा हुँदैन । त्यसैले हामी सबै मिलौं ।छलफल गरौं, म मन्त्री भएर मात्रै होइन । आज मन्त्री छु । मन्त्री सधैँ त रही रहँदैन । मन्त्री त पर्मानेन्ट जागिर होइन । बरु उहाँहरूको पर्मानेन्ट जागिर हो । मन्त्रीहरूको हल्ला भयो यो जाँदै छ भनेर भने कुनै हाकिमले टेर्दैन हेर्नुस् । हामी त महिनामा दुईचोटी तीनचोटी यो जाँदैछ, भन्ने हल्ला चल्छ हेर्नुस् ।
त्यस्तो अवस्था पनि छ । त्यसैले गर्दाखेरी हामी मिलौं । तर म त नागरिक त रहन्छु नि त । जनताले दिएको त छ नि त । सांसद त रहन्छु नि त । चार वर्ष त अझै छ ।कुनैकुनै बेला त मलाई के लाग्छ भने– म त सांसदै भएर पनि धेरै काम गर्थें जस्तो लाग्छ । मन्त्री भएपछि सबै चीज बोल्न पनि नपाइने, गाह्रो हुन्छ ।तपाईंहरूले हेर्नुभएको होला पहिलेको मातृका अब छैन क्या । पहिलेको मात्रै अब छैन । तर एउटा कुरो अहिलेसम्म कतै गडबड गरेको छैन । कतै गडबड गरेको पाउनुभयो भने म सजाय भोग्न तयार छु । कुनै ठाउँमा गडबड गरेको देखाइदिनुस्, म सजाय भोग्न तयार छु । गर्न नसकेको हो म स्वीकार गर्छु, तर गडबड मैले कतै गरेको छैन । बरु मर्न तयार हुन्छु, तर म गडबड गर्ने मान्छे होइन । तपाईंलाई मेरो हिस्ट्री थाहा छ ।
म आफैँ बनेको होइन । म जे छु, त्यसमा धेरै जनताको लगानी छ । धेरै ट्रस्ट गरेर आफ्नो ज्यान गुमाएर पनि मलाई बचाएको हो । त्यत्तिकै म आज तपाईंहरूको बीचमा उभिएको छैन ।आज उपभोक्ता दिवस हो । आम जनताको दिवस हो । नेपालमा आज पनि बजारमा सरकार छ भन्ने अनुभूति छैन । म मन्त्री छु, सरकार बजारमा छैन । कति पीडादायी विषय हो यो । त्यसमा पनि कम्युनिस्ट पार्टीको नेता मन्त्री छ । अरू भए त यिनीहरू यस्तै हुन् भनेर हामी भन्थ्यौं नि नातावाद, कृपावाद यस्तोमा जान्छ भनेर । आरोप लगाउन त सजिलो भइहाल्छ नि ।मेरो एउटै आग्रह के छ भने, आज म एकदमै भावुक छु, हेर्नुस् । हामी सबै मिलौं । म भन्ने देखइदिनुस् । आफू भित्रको ममा यस्तो छ भन्ने पनि देखाइदिनुस् । कहाँ–कहाँ के क्षमता छ, देखाइदिनुस् ।
हामीभित्र कहाँ– कहाँ शंका छ, के छ त्यो हटाऔं । रूपान्तरण हौं र बहस गरौं । मैले निजी सचिवज्यूलाई भनिसक्या छु । लगानी सम्मेलनपछि म मन्त्री भएपनि नभएपनि हामी एउटा वृहत भेला गरौं । सबै पक्षको साथीहरू बसेर वृहत भेला गरौं । हामी एक दिन नास्ता नखाएर पनि बस्न सक्छौं । घरबाटै खाएर आएर पनि बस्न सकिन्छ । एउटा हल मागेर पनि । म मन्त्री भयो भने हाम्रो मन्त्रालयको छँदैछ । म नभएपनि माग्न त सकिन्छ नि !