२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

मोरिन्हो रियल फर्किए शीर्ष खेलाडीले क्लब छाड्ने चेतावनी

1175 Shares
Spread the love

एजेन्सी– खराब दौरबाट गुज्रिरहेको रियल म्याड्रिडले पूर्व म्यानेजर जोसे मोरिन्होलाई पुनः नियुक्त गर्ने चर्चा चलिरहेको छ । चर्चासँगै केही सिनियर खेलाडीहरुले निर्णयप्रति असन्तुष्टि जनाएका छन् । मोरिन्हो क्लबमा फर्किए उनीहरुले क्लब छाड्ने तयारी समेत गरेका छन् ।

सन् २०१० देखि २०१३ मा रियलको नेतृत्व सम्हाल्दा मोरिन्हो र कप्तान सर्जियो रामोशबीच झगडा नै भएको थियो । रामोशले अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग यसबारे असन्तुष्टि जनाइसकेको डेली मेलले समाचारमा उल्लेख गरेको छ ।

मोरिन्हो आए करार सकिन एक वर्ष बाँकी छँदै रामोशले क्लब छाड्ने बताइएको छ । गेराथ बेललाई रियल भित्र्याउन प्रमुख भूमिका खेले पनि वेल्स खेलाडीसमेत मोरिन्होलाई रियलमा स्वागत गर्न तयार देखिएका छैनन् ।

त्यस्तै मार्सेलो र करिम बेन्जेमाले समेत यो योजनाको बिपक्षमा उभिएका छन् । यद्यपि, पेरेजले खेलाडीहरुलाई उनीहरुको कुरा नसुनिने स्पष्ट पारिसकेको समाचारमा बताइएको छ ।

पेरेजले सोमबार क्लबका निर्देशकहरुसँग भेटेर मोरिन्होलाई क्लबको म्यानेजरको रुपमा नियुक्त गर्ने योजना राख्ने बताइएको छ । ५६ वर्षीय प्रशिक्षकलाई गत डिसेम्बरमा म्यान्चेस्टर युनाइटेडले बर्खास्त गरेको थियो ।

म्याड्रिडमा उनलाई तीन वर्षका लागि १.७ करोड पाउण्डको करार दिइने बताइएको छ । योसँगै उनी स्पेनमा डिएगो सिमिओनी (२ करोड पाउण्ड) भन्दा दोस्रो महङ्गो म्यानेजर बन्नेछन् ।

हाल इस्को र रियल म्याड्रिडबीच पनि विवाद चलिरहेको छ । च्याम्पियन्स लिगमा आयाक्सबिरुद्ध लज्जापद हार बेहोर्न अघि इस्को टिम बैठकमा सहभागी नभएपछि उनीमाथि क्लबले अनुशासनको कारवाही गर्ने भएको छ ।

शनिबार भालाडोलिडबिरुद्धको खेलामा टोली घाइते खेलाडीको समस्याबाट गुज्रिरहेको बेला पनि इस्कोलाई टोलीमा समावेश गरिएको थिएन ।

प्रतिक्रिया