२०८३, १० कार्तिक सोमबार
×

इथियोपियन विमान दुर्घटनाः टिकटमा ढिलाइ भएको कारण भाग्यवश बाँचे एक नेपाली

1850 Shares

काठमाडौँ- अफ्रिकी मुलुक इथियोपियामा आइतबार १५७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनामा एकजना नेपाली भने भाग्यले बाँचेका छन् । टिकटमा भएको ढिलाइका कारण नेपालका जितेन्द्र जीसी भाग्यवश बाँचेका हुन् ।

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त बनेको थियो । सो विमानमा ३३ देशका १ सय ४९ जना यात्री र चालक दलका ८ सदस्य रहेका थिए । विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको इथियोपिया सरकारले जनाएको छ ।

सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण भाग्यले बाँचेका हुन् । आफू मृत्युको मुखबाटै जोगिएको अनुभूति शेयर गर्दै जिसीले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । उनले सो कार्यक्रमका लागि प्राप्त टिकटअनुसार आफू पनि सोही विमानमा हुन्थेँ भन्दै टिकटमा भएको ढिलाइले नेपालमै छुट्नुपरेको बताएका छन् ।

जिसीले स्टाटसमा लेखेका छन्, ‘म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार म पनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिएँ । जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरेँ अनि सम्झिएँ- म अर्कोपटक बाँचेँ ।’

उनले आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण सुष्मा दाहाल पोख्रेललाई धन्यवाद समेत दिएका छन् ।

अर्का एक नेपाली भने जोगिएनन्
दुर्घटनाग्रस्त उक्त विमानमा एकजना नेपाली नागरिक पनि सवार रहेको विमान कम्पनीले जनाएको छ । इथोपियन एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा रहेकी ती नेपाली एकता अधिकारी रहेको बताइएको छ । उनको निधन भएको विमान कम्पनीले पुष्टि गरेको छ ।

गोर्खा मुल घर भएकी अधिकारी इथियोपियाको राजधानी अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रममा कार्यरत रहेको जनाइएको छ । अधिकारीसहित राष्ट्र संघकाका एक दर्जन कर्मचारीहरु केन्याको राजधानी नैरोबीमा आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै थिए ।

इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट स्थानीय समयअनुसार बिहान ८ः३८ मा उडेको थियो । विमानले उडान भरेको ६ मिनेटमै विमानको टावरसँग सम्पर्क विच्छेद भएको सो कम्पनीले जनाएको छ ।

मृत्यु हुनेमा केन्याका ३२, क्यानाडाका १८, चीन र अमेरिकाका ८–८, भारत र बेलायतमा ४–४ जना नागरिक रहेका थिए । यसैगरी विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना तथा बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको विमान कम्पनीले जनाएको छ ।

प्रतिक्रिया