फागुन २४- देश विखण्डनको आरोपमा जेल परेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत हिजोमात्र रिहा भएपछि उनी मुलधारको राजनितीमा प्रबेश गरेका छन् । आज राखिएको बिखण्डन अभियान त्याग्ने घोषणा कार्यक्रममा सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको छ ।राष्ट्रिय सभा गृहमा आयोजित सो सहमतीमा उनी मुलरधारको राजनितीमा आउने उल्लेख गरिएको छ । उक्त सहमती अनुसार राउत र उनका कार्यकर्ताले स्वतन्त्र मधेसको नाममा पम्पलेट छाप्ने छैनन् भने सरकारले राउत र कार्यकर्तालाई लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्ने, पक्राउ गरेका कार्यकर्ता रिहा गर्ने, केही समयअघि प्रहरी हिरासतमै मृत्यु भएका राउतका कार्यकर्ता राममनोहर यादव परिवारलाई क्षतिपूर्ति दिने, उनका परिवारका एक जना सदस्यलाई रोजगारी दिने लगायत रहेका छन् ।

आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचार गर्ने, शान्तिपूर्ण तरिकाले राजनीति गर्न प्रतिबन्ध नलगाइने सहमतिपत्रमा उल्लेख छ ।
कार्यक्रममा बोल्दै उनले नेपाललाई स्थिरतामा लैजानका लागि यस्तो कदम चालेको बताए । आन्दोलन बिस्फोट हुने डर भएको तर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहलकै कारण आफुहरु यस अवस्थामा आएको उनको भनाई छ । उनले आजको दिनलाई ऐतिहासिक दिनको रुपमा चित्रण गर्दे भने “हामी बुद्धका सन्तान हौँ अहिंसा हाम्रो रग रगमा बसेको छ । अहिंसाका बारे हामीलाई कसैले सिकाउनै पर्देन । अहिंसा हाम्रो शरीर भित्र नै अन्तरनिहीत भएर बसेको छ”। तराई पहाड जहाँ गए पनि बुद्धको अहिंसाको सन्देशलाई स्वीकार गर्दे आईरहेको बताउँदै उनले अगाडी भने” हामीले यो आन्दोनका क्रममा पनि बुद्ध र गान्धीका आवाजलाई मानेका छौँ ।”
यसअघि आफना भाषणमा हिन्दी भाषा प्रयोग गर्दे आएका उनले नेपालीमा सम्बोधन गर्दे आफना अभिव्यक्ति दिए । उनले राजनितीक सहमतीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहललाई उनले धन्यवाद दिए ।साथै उनले यसअघि शान्तीकै लागि पहल गरेका स्वर्गीय प्रधानमन्त्री सुशिल कोइराला , डा बाबुराम भट्टराई , शेर बहादुर देउवा र प्रचण्डले खेलेको भुमिकालाई पनि स्मरण गर्दे धन्यवाद दिए । आफुहरुले आन्दोलन गर्दा विभिन्न किसिमका भ्रमहरु सृजना भएको भन्दै उनले राज्यबाट पनि दमन भएको बताए ।

उनले आफुहरुको आन्दोलन अधिकारका लागि भएको तर समुदाय–समुदायलाई लडाउने खेल नभएको बताए । उनले भने “अरुलाई कुट्न सजिलो छ ढुंगा फाल्न सजिलो छ तर आफैँले कुटाई खाएर बस्न चाहिँ गाह्रो छ । ‘हाम्रो आन्दोलनका क्रममा समुदायलाई लडाएर फाइदा लिन पनि खोजियो । हामीमाथि दमन हुँदा पनि हामीले हातमा हात बाँधेर बस्यौँ दमनलाई सहेर यहाँ आएका छौँ ।” सरकारले हिंसा गर्दा पनि आफुहरुले प्रतिउत्तर नदिएर शान्ती र सहमतीको पथ रोजेको उनको भनाई छ ।