फागुन २१- पछिल्लो समय नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय क्षेत्रमा थप चर्चा दिन सफल नेपाली क्रिकेटर सन्दीप लामिछाने वर्ष खेलाडी घोषित भएका छन् । नेपालका क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले आज बितरण गरेको अवार्डमा सन्दीपले वर्ष खेलाडीको अवार्ड जितेका हुन् । एनसीसीएस (सिप्यान) क्रिकेट अवार्डको पुरुषतर्फ सन्दीपले पुराना खेलाडीहरुलाई पछि पार्दे अवार्ड जितेका हुन् । सो विधामा सन्दीपसहित कप्तान खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी थिए। यस बर्ष उनले बिग ब्यास , पाकिस्तान प्रिमियर लिग , बंगलादेश प्रिमियर लगायतका खेलहरु खेलेका थिए ।

आफनो चमत्कारी खेलबाट सबैलाई चकित बनाएका सन्दीप पछिल्लो समय निकै व्यस्त रहेका क्रिकेट खेलाडी हुन् । उनले अब छिट्टै आईपिल पनि खेल्ने तयारीमा छन् । उता महिलातर्फ सीता रानामगर उत्कृष्ट घोषित भइन्। उनले इन्दु बर्मा, करुणा भण्डारी, रुबिना क्षेत्री बेलबासी र सरिता मगरलाई पछि पारेकी हुन्। इमर्जिङ खेलाडीको मनोनयनमा परेका अभिनास बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरामध्येमा पौडेल उत्कृष्ट घोषित भए।