विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टी संविधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभएको हो ।
अध्यक्ष राणाले सिंहदरबारको अधिकार स्थानीय तहमा दिनु सङ्घीयताको मजबुत पक्ष भएको बताउँदै प्रदेश सरकारबाट शक्तिको दुरुपयोग हुनु गलत भएको धारणा व्यक्त गर्नुभयो । राप्रपा(संयुक्त)को कार्यसूचीमा सहमति जनाउनका लागि पार्टीको ढोका खुला रहेको बताउँदै उहाँले राप्रपाका कमल थापासँग चुनाव चिह्न ‘हलो’मा सहमति नभएकाले एकीकरण हुन नसकेको प्रष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको हक उपयोग गर्दा कसैले आफुहरुलाई थुन्छ भने आफुहरु थुनिन तयार रहेको बताए । ‘कसैले थुन्छ भने थुनोस । यो हाम्रो चुनौति हो अध्यक्ष लोहनीले चेतावनी दिए । लोहनीले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र सबैलाई स्वीकार्य संविधानिक राजसंस्था स्थापनाको मुद्दा लिएर पार्टी अगाडि बढेको बताउनुभयो ।
उनले भने ‘‘नेपाली काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भने सरकारले पनि सुशासन कायम गरी मुलुकमा भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहनालाई पूरा गर्न सकेन । सो पत्रकार सम्मेलनमा अध्यक्षद्वय प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा ले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर जनतामा जाने र संघर्ष गर्ने कार्यमा पार्टी एक र दुवै अध्यक्ष एकमत छन।