काठमाडौं– सांसदहरुले आ–आफ्ना आफन्तलाई स्वकीय सचिव राखेर पैसा खाने गरेको चर्चा भइरहेको बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले पनि आफ्ना स्वकीय सचिवको फर्जी हस्ताक्षर गरेर पैसा झिकेको कुरा बाहिर आएको छ । प्रतिनिधिसभा सदस्य महतोले आफ्ना स्वकीय सचिवमा रविन्द्रकुमार चौधरी (राजेश चौधरी) लाई राखेका थिए । राजेश चौधरी शुरुदेखि नै नेपाल सद्भावना पार्टीको कार्यालय सचिवमा कार्यरत थिए । महतोले नेपाल सद्भावना पार्टी विभाजन गरेर सद्भावना पार्टी गठन गरेपछि चौधरी सो पार्टीमा काम गर्न थालेका थिए ।
पछि सद्भावना पार्टीले अन्य पार्टीसँग मिलेर राजपा नेपाल गठन गरेपछि चौधरी सो पार्टी कार्यालयमा पनि तलबी कर्मचारीको रुपमा काम गरिरहेका थिए । पछि राजपा नेपालले एकैपटक सबै कर्मचारीलाई बर्खास्त गरेपछि चौधरी पनि त्यसमा परेका हुन् ।
पार्टी कार्यालयमा कार्यरत राजेश चौधरी बर्खास्तीमा परेपनि उनको नाम स्वकीय सचिवमा राखेर महतोले फर्जी हस्ताक्षर गरेर पैसा खाँदै गरेको कुरा बाहिर आएको हो । २०७४ फागुनदेखि महतोको स्वकीय सचिवमा नियुक्त भएका चौधरी आफ्नो संसद सचिवालयमा जाँदा राजेन्द्र महतोले फर्जी हस्ताक्षर गरेर सबै रकम आफ्नो खातामा राखेको खुलेको हो ।
पहिला सांसदको तलब भत्तासँगै स्वकीय सचिवको रकम सांसदकै खातामा जान्थ्यो । स्वकीय सचिवको रकम सांसदको खातामा गएपनि रकम बुझिलिएको भनि भर्पाइमा संसद सचिवालयमा गएर स्वकीय सचिवहरुले हस्ताक्षर गर्नुपर्ने नियम थियो ।
स्वकीय सचिवको रकम महिनै पिछे गएपनि रकम बुझिलिएको भर्पाइ एक आर्थिक वर्षमा एकैपटक गर्नुपर्ने प्रावधान सचिवालयमा थियो । तर जब रकमको बारेमा सचिवालयमा बुझ्न चौधरी गए सांसद महतोले पहिला नै आफ्नो हस्ताक्षर गरेर रकम बुझिसकेको थाह पाए । उनले भने, ‘म स्वकीय सचिवमा नियुक्त भएदेखि कहिल्यै हस्ताक्षर गरेको थिएन, हस्ताक्षर गर्न जाँदा राजेन्द्र महतोले फागुनदेखि असारसम्म मेरो फर्जी हस्ताक्षर गरिसक्नुभएको छ ।’
सचिवालयले साउनदेखि मंसिरसम्म हस्ताक्षर गर्न बाँकी रहेको भन्दै भर्पाईमा हस्ताक्षर गर्न दिँदा आफूले नगरेको चौधरीले बताए । उनले भने, ‘जसले यसअघि हस्ताक्षर गरेर पैसा बुझे उसैलाई भन्नुस् म हस्ताक्षर गर्दिन् भनि फर्केर आएको छु ।’
उनलाई सचिवालयले सांसद महतोले हटाएको सूचना जारी गरेर परिचयपत्र फिर्ता गर्न आग्रह गर्दै बोलाएपछि उनी त्यहाँ पुगेका थिए । उनलाई फोन गरेर सचिवालयले भनेको थियो, ‘तपाईलाई सांसद महतोले स्वकीय सचिवबाट हटाएर अर्कोलाई नियुक्त गर्नुभएको छ, तपाईले यहाँबाट लिनुभएको परिचयपत्र बुझाउन आउनुस्’ ।
चौधरीले भने, ‘महतोले मलाई स्वकीय सचिवमा नियुक्त गर्नुभएको थियो तर पछि मलाई हटाएको कुरा जानकारी पनि दिनुभएन, सचिवालयले फोन गरेपछि त्यहाँ जाँदा मात्र राजेन्द्र महतोको कर्तुत थाहा पाए ।’
सांसदहरुले स्वकीय सचिवमा आफन्तको नाम राखेर आफ्नै खातामार्फत पैसा लिने गरेको कुरा बाहिर आएपछि संसद सचिवालयले पुसदेखि स्वकीय सचिवको रकम उसैको खातामा पठाउने नीति बनायो ।
यो नीति लगाउँदा चौधरीको खातामा रकम पठाएपछि पार्टी कार्यालयबाट बर्खास्त भएका उसले सो रकम फिर्ता नदिन सक्छ कि भनेर महतोले आफ्नो साढुका छोरा सुनिल महतोलाई स्वकीय सचिवमा नियुक्त गरि उसको खाता नम्बर संसद सचिवालयलाई पठाएका थिए । तर, सुनिल महतोले आफ्नो खातामा आएको रकम राजेन्द्र महतोलाई फिर्ता नदिएपछि उनले सुनिललाई हटाएर फागुनदेखि लागू हुने गरि जनकपुरका पत्रकार विन्दाकिशोर साहलाई स्वकीय सचिव नियुक्त गरि उसको खाता नम्बर सचिवालयमा दिएका थिए ।
महतोले सुनिललाई हटाएर किशोरलाई राख्दासम्म चौधरीले आफूलाई हटाएको चाल पाएका थिएनन् । सचिवालयले परिचयपत्र बुझाउन फोन गरेपछि मात्र थाह पाएको चौधरी बताउँछन् । उनले भने, ‘जब स्वकीय सचिवको रकम उसैको खातामा जाने नियम बनेपछि खाता नम्बरसहितको पत्रमा हस्ताक्षर गराउन महतोसमक्ष पुगेको थिए । तर, सो पत्रमा उहाँले हस्ताक्षर गर्न नमानेपछि त्यही बेला शंका लागेको थियो कि केही गडबड भएको छ ।’
कार्यालयमा काम गर्दा तलब लिइरहेका कारण स्वकीय सचिवको तलबमा आफूले दावी नगरेको तर सांसद महतोले आफ्नो फर्जी हस्ताक्षर गरेको कुरा पछि थाहा पाएको बताए । उनले भने, ‘राजेन्द्र महतोसँग मैले लामो समय काम गरेको छु, त्यही कारणले होला उहाँले बोलाएर मलाई भन्नुभयो राजेश तिमी बाहेक अरुमाथि मलाई विश्वास छैन, मेरो पद र नामको अरुले दुरुपयोग गर्नसक्छ, त्यसैले तिमीले नै स्वकीय सचिव बनेर मलाई सहयोग गर, तिमी अलरेडी पार्टी कार्यालयबाट तलब पाइरहेका छौं । मैले उहाँमाथि यत्रो विश्वास गरे तर उहाँले नै मलाई धोका दिएर फर्जी हस्ताक्षर गरेर रकम उठाउनुभयो ।’ अहिले स्वकीय सचिवको तलब ३० हजार ५०० रहेको छ ।