काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई भेट्न उनको घरमै पुगेका छन् । सभापति देउवाले ट्वीटरमार्फत आफू निर्मलाका परिवारलाई भेट्न पुगेको जानकारी दिएका हुन् ।
उनी निर्मलाका परिवारलाई नै भेट्ने मुख्य उद्देश्य लिएर कञ्चनपुर पुगेका हुन् वा आफ्नो अन्य कुनै कामको सिलसिलामा गृहजिल्ला जाँदा निर्मलाका परिवारलाई भेटेका हुन् भन्ने स्पष्ट भइसकेको छेन । देउवाले ट्वीटरमा निर्मलाका परिवारसँग भेटघाट गर्दै गर्दाको फोटो पोस्ट गरेका छन् ।
फोटो पोस्ट गर्दै सभापति देउवाले लेखेका छन् ‘आज कंचनपुरकी हाम्री चेली निर्मला पन्तका परिवारलाई घरमै पुगेर भेट गरें । निर्मलाका लागि न्याय दिलाउनु उनको परिवारको मात्रै होईन, हामी लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व हो । निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खवरदारी गर्ने प्रतिवद्धता गरेको छु ।’