२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

गगन थापाको नजरमा रवीन्द्र अधिकारी

1903 Shares
Spread the love

गगनकुमार थापा
काठमाडौं । रवीन्द्र अधिकारीको सबभन्दा ठूलो खुबी भनेकै उनको सक्रियता थियो। आफूलाई लागेको विषयमा निरन्तर रूपमा जुधिरहने। उनलाई भित्रैदेखि त्यस्तो जाँगर आउँथ्यो।

मलाई सबैभन्दा बढी याद आउने कुरा चाहिँ नेकपा एमाले पार्टी फुटेको बेलामा वामदेवजीले नेतृत्व गरेको माले पार्टी रवीन्द्र अधिकारीले नेतृत्व गरेको विद्यार्थी सङ्गठनको सक्रियतामा सिङ्गो एउटा पार्टी टिकेको, अडेको, बाँचेको अवस्था थियो।

मैले उनलाई रवीन्द्र दाइ नै भनेँ मैले सधैँभरि।

असल मित्र
कुनै दुईवटा राजनीतिक दलको युवाहरूको बीचको सम्बन्ध भन्दा धेरै एकदमै धेरै नजिकको असल मित्रको सम्बन्धको रूपमा हामीबीच वर्षौंदेखि सम्बन्ध विकास भयो।

कैयौँ कामहरू सँगै गर्‍यौँ। थुप्रै सानासाना समूह बनाएर सँगै काम गर्‍यौँ।

मलाई गाह्रोसाह्रो परेको बेलामा अफ्ठ्यारो परेको बेलामा, धेरै लखेटिएको बेलामा खोजीखोजीकन आएर भेटेर सम्झाएको पनि सम्झन्छु।

केही कुरामा विमतिहरू रहे। त्यसो हुँदाहुँदै पनि एउटा असल साथी र एउटा लामो यात्रा गर्न सकिन्छ भन्ने साथी गुमाएको ठूलो रिक्तता यसलाई शब्दमा ठ्याक्कै व्यक्त गर्न सक्दिनँ।

ठूलो रिक्तता
तर एकदमै ठूलो रिक्तता महसुस गरेको छु र सँधैभरि गरी नै राख्छु।

किनभने त्यो खालको सम्बन्ध मेरो अरू फरक पार्टीको कोही अर्को मान्छेसँग खासै विकासै हुन सकेन।

पार्टीभन्दा बाहिर अरू पार्टीसँग मिलेर काम गर्न सक्ने विषयहरूको बारेमा पनि गहिरो रुचि राख्ने र मलाई थाहा छैन मलाई आउँदैन भन्ने कुरामा पटक्कै अप्ठ्यारो नमान्ने नयाँ कुरा खोजी गर्ने उनको स्वभाव थियो।

मैले सबभन्दा सम्झिने भनेको दोस्रो पटकको संविधानसभा पनि असफल हुने जस्तो अवस्था भयो।

त्यो बेलामा बीबीसीमा छलफलमा आएका बेला बीबीसीकै कार्यालयमा मैले उनीसँग एउटा प्रस्ताव राखेको थिएँ।

मेरो प्रस्ताव थियो हामी दुईजना मिलेर एउटा संयुक्त लेख लेखौँ।

तर लेखमा हामीले हाम्रै नेताहरूलाई पनि थुप्रै प्रश्न गर्नुपर्ने हुन्छ।

notext

संयुक्त लेख
मलाई त मेरो पार्टीमा डर हुँदैन तर तपाईँको पार्टीको संरचनाको हिसाबले डर हुन सक्छ भन्दा यो बेलामा संविधानसभा असफल भयो भने केही बाँकी रहन्न भनेर उनी लेख्न तयार भए।

पार्टी नेता सम्बन्ध गौण कुरा हो, लेखौँ भनेर हामीले पार्टीका नेताहरूलाई राम्रैसँग आलोचना गरेर संयुक्त रूपमा लेखेको म सम्झन्छु।

उनी पार्टीको घेरामा सीमित नरहने खालका थिए।

उनले पार्टीसँग नडराईकन आफ्नो सीमा र परिधिभन्दा बाहिर निस्केर काम गरेको थुप्रैथुप्रै सम्झनाहरू मसँग छन्।

संविधानलेखनमा संविधानसभाका थुप्रै सदस्यहरूको भूमिका हस्ताक्षर गर्ने औपचारिक भूमिकामा सीमित थियो।

सधैँ क्रियाशील
थोरै मानिसहरू चाहिँ नेताहरूबीच समझदारीको वातावरण भङ्ग नहोस् भन्नका निम्ति देखिनेमा पनि काम गर्ने पर्दापछाडि पनि काम गर्ने असाध्यै क्रियाशील थिए।

पर्दा पछाडिको नेताहरूको सम्बन्ध नबिग्रोस् भनेर सानो समूह बनाएर हामीले काम गरेका थियौँ।

युवाहरूको समूहमध्ये सबभन्दा सक्रिय मान्छेमध्ये एक थिए उनी।

जसले नेताहरूको व्यक्तिगत सम्बन्ध बिग्रियो भने संविधाननिर्माणको प्रक्रिया प्रभावित हुन्छ भनेर सम्बन्धलाई ठिक ठाउँमा राख्नका निम्ति लगातार काम गरिराखे।

notext

विवादमाथि दुःख
एनसेलको करप्रकरण र वाइडबडी जहाज प्रकरणबारे पनि हाम्रो कुराकानी भएको थियो।

दुई पटक अनौपचारिक भेटघाट हुँदा मैले ती कुराहरूमा असाध्यै दुःख लागेको कुरा उनलाई राखेँ।

तर उनमा यति धेरै आत्मविश्वास थियो कि ‘यो दूधको दूध, पानीको पानी छुट्टिँदै गर्दाखेरि मैले गल्ती गरेको छैन भन्ने छुट्टिन्छ। यो राजनीति हो जबसम्म टुङ्गिँदैन त्यो बेलासम्म प्रश्नको सामना मैले गर्नुपर्छ’ भनेका थिए।

उनको त्यो आत्मविश्वास मलाई गजबको लागेको थियो।

उनले भनेको जस्तै एउटा अत्यन्त विश्वास गरेको आशा गरेको युवा यी कुनै पनि कुरामा संलग्न नभएको भन्ने उनको कुरा प्रमाणित होस् भन्ने मेरो भित्री मनको शुभेच्छा र चाहना पनि थियो।

केही दिन अगाडि विमानस्थलमा जम्काभेट भएको थियो।

छोटो भेटमा उनले मेरा छोरीहरूका बारेमा सोधेका थिए। व्यक्तिगत पारिवारिक कुरा मात्रै सोधेर हामी छुट्टियौँ।

मेरो उनीसँगको अन्तिम भेट नै त्यही बन्न पुग्यो। (बीबीसीसँग काँग्रेस नेता गगनकुमार थापाले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया