नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको सरकारले जनताको अपेक्षा गरे अनुसार काम गर्न नसकेको बताएका छन् । मंगलबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ‘जनयुद्ध’ का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । जनताले सरकारको कामप्रति प्रश्न उठाउन थालेको भन्दै सरकारले जनचाहना अनुसार विकास निर्माणका काम र भ्रष्टाचार नियन्त्रणको काम गर्न नसकेको भन्दै गुनासो आएको बताए ।
उनले चुनावका बेला सामाजिक सुरक्षा भत्ता मासिक पाँच हजार पु¥याउने भनी गरेको बाचा पुरा गर्न नसकेको भन्दै प्रचण्डले आत्मआलोचना गरे । उनले भने “हामीले वृद्धभत्ता मासिक पाँच हजार पुर्याउँछौं भनेका थियौं। बाआमालाई विश्वास लागेको थियो। यो पटक पुर्याउन सकिएन। त्यसकारण हाम्रा बाआमालाई त्यति मीठो लाग्या छैन।” जनताले चाहे अनुसार फटाफट काम गर्न नसकेको र भ्रष्टहरूमाथि कारवाही हुन नसकेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आगामी योजनाका लागि छलफल गरेको समेत बताए ।