काठमाडौं। अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा आज नेपालले अंक तालिकाको शीर्ष स्थानमा रहेको यूएइलाई ७ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४१ रन बनाएको थियो।
४२ रनको झिनो लक्ष्य प्राप्त गरेको नेपालले १०.२ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको हो। यूएईका लागि सेनेभिरत्नाले बाहेक अरु कसैले पनि दोहोरो अंकको रन बनाउन सकेनन्। उनले २९ बलमा एक चौका प्रहार गर्दै मात्र १३ रन बनाएकी थिइन्।
यूएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी नरी थापाले सर्वा्धिक ४ विकेट लिइन्। त्यस्तै सोनु खड्का,कविता कुवँर र सीता राना मगरले २/२ विकेट लिए।
यस्तै नेपालको जितका लागि विकेटकिपर काजल श्रेष्ठले २५ बल खेलेर २ चौका प्रहार गर्दै १५ रन बनाइन्। त्यस्तै कप्तान रुबिना क्षेत्रीले १ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक १८ रन बनाईन्।
यूएईका लागि इशा रोहितले २ विकेट र कविशा एगोडेजले १ विकेट लिइन्।
नेपालले ग्लोबल छनोटमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने अवस्था रहेको छ। राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टिम आर्इ्सिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।