माघ १६ – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा गरिएको छ । चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बन्ने तय भएपछि देशसंगै चितवनबासीले गर्व महसुस गरिरहेका छन् । चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुन लागेको हो ।सो रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने छ ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा रङ्गशाला बन्ने भएको हो । रङ्गशाला निर्माणका लागि फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत भईसकेको छ । सो रंगशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।


सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रंगशाला निर्माण गर्ने भए संगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए । कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो ।औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइनेछ ।सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने भएको हो ।






