मंगलवार, २०८३ मंसिर ८
EN
मेनु

अनुसन्धानमा ‘नेता–नाता’ नहेर्न गगनको जोड, देउवा समूहलाई विधान मान्न चेतावनी

अर्को दलमा प्रवेश गर्ने वा अन्य दलको चुनाव चिह्नबाट निर्वाचन लड्ने कांग्रेस सदस्यलाई विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए

अनुसन्धानमा ‘नेता–नाता’ नहेर्न गगनको जोड, देउवा समूहलाई विधान मान्न चेतावनी

कांग्रेस सभापति गगन थापा । तस्बिर : नेपाल फोटो लाइब्रेरी

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा राज्यका संयन्त्रको दुरुपयोग गरिए कांग्रेसले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
  • देउवा समूहलाई विधान पालना गर्न चेतावनी।
  • �मेरो चिन्ता शेरबहादुर देउवाको हो।

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा राज्यका संयन्त्रको दुरुपयोग गरिए कांग्रेसले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन्। राजनीतिक निकटताका आधारमा कसैले उन्मुक्ति पाउन नहुने स्पष्ट पार्दै उनले पार्टीभित्रको समानान्तर गतिविधि र विधानविपरीतका काम पनि स्वीकार्य नहुने बताएका छन्।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि वर्तमान सत्तारूढ दल तथा नेतृत्वसँग निकट व्यक्तिहरूसमेत निष्पक्ष अनुसन्धानको दायरामा आउनुपर्ने बताए।

“नेता पनि भन्दैनौँ, नाता पनि भन्दैनौँ,” भन्दै उनले देउवा, ओली वा राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग निकट भएकै आधारमा कसैले छुट पाउन नहुने धारणा राखे।

अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने तर राज्यका निकायलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन नहुने उनको भनाइ थियो। राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो सञ्चालन गर्न खोजिए कांग्रेसले प्रश्न उठाउने र प्रतिरोध गर्ने उनले बताए।

थापाले अनुसन्धानको सफलता राजनीतिक लाभ वा हानिका आधारमा नभई सत्य र न्याय स्थापित भए–नभएको आधारमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिए।

सामाजिक सञ्जालको दबाबबाट नडराउने दाबी

आफू र कांग्रेसलाई सामाजिक सञ्जालमार्फत त्रसित बनाउने प्रयास भइरहेको उल्लेख गर्दै थापाले त्यसबाट पार्टीको राजनीतिक चरित्र परिवर्तन नहुने बताए। राजाको प्रत्यक्ष शासनकाल, माओवादी द्वन्द्व र केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री भएका बेलासमेत कांग्रेसले गलत कामको विरोध गरेको स्मरण गराउँदै उनले अहिले पनि आफ्नो अडान नबदलिने बताए।

सभापति भएपछि एमाले अध्यक्ष ओलीसँग पाँच पटक भेट भएको प्रसंग उल्लेख गर्दै उनले राजनीतिक दलका नेताहरूबीच भेटघाट र छलफल हुनु स्वाभाविक भएको बताए। यस्ता भेटलाई लिएर अनावश्यक आशंका र प्रचार गरिएको उनको भनाइ थियो।

रास्वपाको जनादेशलाई सम्मान, सशक्त प्रतिपक्षको भूमिका

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको बहुमतलाई कांग्रेसले सम्मान गर्ने बताए। पाँच वर्ष सरकार चलाउने जनादेश पाएको सत्तारूढ दललाई पूरा अवधि काम गर्न दिनुपर्ने उनको धारणा थियो।

तर, सरकारलाई सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गर्ने, प्रश्न उठाउनुपर्ने ठाउँमा प्रश्न गर्ने र आवश्यक परे प्रतिरोध गर्ने उनले स्पष्ट पारे। कांग्रेस प्रतिपक्षी गठबन्धन निर्माणको पक्षमा नरहेको र जिम्मेवार तथा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

कांग्रेस निर्वाचन लड्ने माध्यम मात्र नभई राष्ट्रिय राजनीतिक जिम्मेवारी बोकेको पार्टी भएको उल्लेख गर्दै थापाले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाप्रति नागरिकको विश्वास र युवापुस्तासँगको सम्बन्ध बलियो बनाउनु पार्टीको प्रमुख दायित्व भएको बताए।

देउवा समूहलाई विधान पालना गर्न चेतावनी

कांग्रेसभित्रको आन्तरिक विवादबारे बोल्दै थापाले पूर्वसभापति देउवा समूहले अघि बढाएको समानान्तर अधिवेशनप्रति असहमति जनाए। एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने उल्लेख गर्दै उनले पार्टीका जनप्रतिनिधि तथा कार्यकर्तालाई विधान र अनुशासन पालना गर्न आग्रह गरे।

कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा प्रवेश गर्ने वा अर्को दलको चुनाव चिह्नबाट निर्वाचन लड्ने व्यक्तिमाथि पार्टी विधानअनुसार कारबाही हुने उनले बताए। विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा नभई कांग्रेसको सदस्यता कायम राखेर अर्को दलको सदस्यता लिने वा अर्को दलबाट चुनाव लड्ने विषयमा विधान लागू हुने उनको भनाइ थियो।

थापाले असन्तुष्ट नेता तथा कार्यकर्तालाई पार्टीमा फर्काउन संवादको ढोका खुला रहेको पनि बताए। विशेष महाधिवेशनमा सहभागी नभएका नेताकार्यकर्तासँग छलफल गर्न र उनीहरूलाई जिम्मेवारी दिएर अघि बढ्न आफू तयार रहेको उनको भनाइ थियो।

“विवादका विषय कार्पेटमुनि राख्ने कुरा छैन,” भन्दै उनले पार्टीभित्रका असन्तुष्टि र गुनासो संवादबाट समाधान गर्न सकिने बताए।

देउवाप्रति व्यक्तिगत गुनासो छैन, मर्यादा कायम राख्न आग्रह

थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति आफ्नो व्यक्तिगत गुनासो नरहेको स्पष्ट पार्दै सार्वजनिक अभिव्यक्तिमा राजनीतिक मर्यादा कायम राख्न आग्रह गरे।

पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टी सभापति भइसकेका देउवा आफ्नो अभिभावक र नेता रहेको उल्लेख गर्दै उनले देउवाको राजनीतिक उचाइ र योगदानअनुसार अभिव्यक्ति आउनुपर्ने धारणा राखे।

“मेरो चिन्ता शेरबहादुर देउवाको हो। जीवनको यो मोडमा आइपुग्दा अग्लो ठाउँमा बस्नुहोस्, तल नझर्नुहोस् भन्ने मेरो आग्रह मात्रै हो,” थापाले भने।

जेन–जी आन्दोलनका क्रममा देउवाको निवास जलाइएको घटनाबारे सार्वजनिक रूपमा व्यक्त अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि जनाए। आन्दोलनका क्रममा घर जलाइएको विषयमा एउटा सानो बालकसँग गरिएको कुराकानीमा देउवाले टाउको हल्लाएर सहमति जनाएको भिडियोको प्रसंग उल्लेख गर्दै उनले नेताको बोली र असहमति दुवै राजनीतिक हुनुपर्ने बताए।

बाढीपीडित, सुकुम्बासी र स्वास्थ्य बिमाबारे सरकारको ध्यानाकर्षण

बैठकमा थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको अवस्था, सुकुम्बासी समस्या र स्वास्थ्य बिमा कार्यक्रमको अस्तव्यस्तताबारे पनि सरकारको ध्यानाकर्षण गराए।

विपत्तिपछि अढाई महिना बितिसक्दा पनि प्रभावित परिवार राहतको भरमा बस्न बाध्य रहेको उल्लेख गर्दै उनले पुनर्वास र पुनर्निर्माणको काममा सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताए। नागरिकका दैनिक समस्या र सार्वजनिक सेवासँग जोडिएका विषयमा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्ने उनको भनाइ थियो।

अनुसन्धानमा निष्पक्षता, राज्यका निकायको जवाफदेहिता र पार्टीभित्रको अनुशासनलाई एकै सम्बोधनमा उठाउँदै थापाले कांग्रेसले सरकारसँग आवश्यकताअनुसार सहकार्य र प्रतिरोध दुवै गर्ने संकेत गरेका छन्।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 25% (1)
अपेक्षाभन्दा कमजोर छ 50% (2)
बिल्कुलै गरिरहेको छैन 25% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 4

ट्रेन्डिङ