काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय राजनीतिक दलहरूले विदेशी शक्तिको हस्तक्षेप र दबाबमा गरेको आरोप लगाएका छन्।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षताको निर्णय आम नागरिकको इच्छाविपरीत भएको दाबी गरे। उनले राजनीतिक दलहरूले धर्मलाई राजनीतिक स्वार्थसँग जोडेर आफ्नो राजनीतिक रोटी सेक्ने काम गरेको आरोपसमेत लगाए।
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने राप्रपाको माग राजनीतिक मुद्दा नभएको उनको भनाइ थियो। उनले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नु राजनीतिभन्दा पनि नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानको विषय भएको जिकिर गरे।
लिङ्देनले उक्त मागलाई कसैले राजनीतिक विषय मान्छ भने सनातन धर्मावलम्बीहरू पनि राजनीतिमा आउनुपर्ने आह्वान गरे।
उनले हिन्दु धर्म कमजोर भए नेपालको स्वाभिमान र राष्ट्रिय अस्तित्वसमेत संकटमा पर्न सक्ने धारणा राखे। नेपालको विविध संस्कृति र परम्परालाई सनातन हिन्दु धर्मले मात्रै एकताबद्ध र सहिष्णुताको मार्गमा डोर्याउन सक्ने उनको तर्क थियो।
सम्बोधनका क्रममा लिङ्देनले नेपाल हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बन्ने प्रक्रियाबारे प्रश्न उठाउँदै राजनीतिक दलहरूले पर्याप्त सार्वजनिक छलफल र जनमतबिना नै यस्तो निर्णय गरेको आरोप लगाए।
उनले भने, “दलहरूले त विदेशीको हस्तक्षेप, चाहना र दबाबमा वा आफ्नो राजनीतिको रोटी सेक्न नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाए होला।”
लिङ्देनले हिन्दु राष्ट्रको मागलाई राजनीतिक स्वार्थका रूपमा नभई नेपालको धार्मिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्।