लन्डन । नेपाली विद्यार्थीको प्रमुख शैक्षिक गन्तव्यका रूपमा रहेको बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन उल्लेख्य रूपमा घट्न थालेको छ। बेलायती गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०२६ अक्टोबरसम्मको एक वर्षमा मुख्य आवेदकका विद्यार्थी भिसा आवेदन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले घटेका छन्। यसको प्रभाव नेपाली विद्यार्थीमाझ पनि देखिएको छ।
गृह मन्त्रालयले १२ नोभेम्बर २०२६ मा सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबर २०२६ सम्मको एक वर्षमा बेलायतमा अध्ययन गर्न मुख्य आवेदकबाट ३ लाख ४९ हजार ९०० विद्यार्थी भिसा आवेदन प्राप्त भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या बढी थियो।
त्यसैगरी विद्यार्थीका आश्रित परिवारका सदस्यबाट प्राप्त आवेदन १५ हजार ४०० मा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशत कम हो।
नेपाली विद्यार्थीको भिसा स्वीकृति ५३ प्रतिशतले घट्यो
नेपाली विद्यार्थीका लागि चिन्ताजनक तथ्यांक दोस्रो त्रैमासिकको हो।
ब्रिटिस काउन्सिलले सार्वजनिक गरेको गृह मन्त्रालयको तथ्यांकअनुसार सन् २०२६ अप्रिलदेखि जुनसम्म नेपालबाट आवेदन दिने २ हजार १३३ मुख्य आवेदकले बेलायतको विद्यार्थी भिसा प्राप्त गरेका छन्। यो संख्या सन् २०२५ को सोही अवधिको तुलनामा ५३ प्रतिशत कम हो।
सन् २०२५ मा भने बेलायतले नेपाली आवेदकलाई कुल १९ हजार ५५३ विद्यार्थी भिसा जारी गरेको थियो। अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशत वृद्धि भएपछि नेपाल बेलायतमा विद्यार्थी पठाउने प्रमुख पाँच देशमध्ये परेको थियो।
यसरी अघिल्लो वर्ष उल्लेख्य वृद्धि भएको नेपाली विद्यार्थीको संख्या पछिल्लो त्रैमासिकमा घट्नुले बेलायत जाने विद्यार्थीको प्रवृत्तिमा परिवर्तन आएको संकेत गरेको छ। यद्यपि सन् २०२६ को तेस्रो त्रैमासिकको तथ्यांक नोभेम्बर २६ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ। त्यसपछि गिरावटको पछिल्लो अवस्था अझ स्पष्ट हुनेछ।
आश्रित लैजाने नियमले नेपाली विद्यार्थीलाई बढी प्रभाव
बेलायत सरकारले १ जनवरी २०२४ देखि अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो पति, पत्नी वा सन्तानलाई आश्रितका रूपमा बेलायत ल्याउन प्रतिबन्ध लगाएको थियो। मुख्यतः स्नातकोत्तर अनुसन्धान तहका विद्यार्थी र सरकारी छात्रवृत्तिमा अध्ययन गर्न आउने केही विद्यार्थीलाई भने अपवाद दिइएको छ।
यस नीतिपछि विद्यार्थीका आश्रितको आवेदनमा ठूलो गिरावट आएको छ। गृह मन्त्रालयका अनुसार अक्टोबर २०२६ सम्मको एक वर्षमा आश्रितका आवेदन अघिल्लो वर्षभन्दा ३२ प्रतिशत कम भएका छन्। सन् २०२३ डिसेम्बरको तुलनामा भने आश्रितका आवेदन ८९ प्रतिशतले घटेका छन्।
नेपाली विद्यार्थीमध्ये धेरैले परिवारसहित बेलायत आउने योजना बनाउने गरेकाले यो नीतिले बेलायतलाई अध्ययन गन्तव्यका रूपमा रोज्ने निर्णयमा प्रभाव पारेको शिक्षा क्षेत्रका विज्ञहरूको भनाइ छ।
विश्वविद्यालयमा भर्ना घट्दा आर्थिक असरको चिन्ता
युनिभर्सिटी अफ चेस्टरका ग्लोबल इम्प्याक्ट एन्ड रिसर्च कार्यकारी डिन प्राध्यापक डा. पदम सिम्खडाले आफ्नो विश्वविद्यालयमा सन् २०२६ अप्रिलदेखि जुनसम्म अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या करिब ५० प्रतिशतले घटेको जानकारी दिएका छन्। सोही अवधिमा नेपाली विद्यार्थीको संख्या पनि करिब २० प्रतिशत घटेको उनको भनाइ छ।
उनका अनुसार पछिल्लो सेप्टेम्बर भर्नामा भने विश्वविद्यालयमा करिब १०० नेपाली विद्यार्थी भर्ना भएका छन्।
डा. सिम्खडाले बेलायतप्रतिको विद्यार्थीको आकर्षण घटेको भन्दा पनि सरकारले लागू गरेका कडा आप्रवासन नीतिले विद्यार्थी भर्ना प्रभावित भएको टिप्पणी गरेका छन्। विश्वविद्यालयहरू विद्यार्थी भिसा अस्वीकृति दर, भर्ना अनुपात र पाठ्यक्रम पूरा गर्ने दरसम्बन्धी मापदण्डका कारण अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा थप सतर्क बनेको उनको भनाइ छ।
लन्डनस्थित शिक्षा परामर्शदाता संस्था युनिगाइडका प्रमुख गणेश दाहालले पनि नेपाली विद्यार्थी बेलायत आउने क्रम घट्दा परामर्श व्यवसायमा समेत असर देखिन थालेको बताएका छन्।
उनका अनुसार आश्रित ल्याउन नपाउने नियम, अध्ययनपछि रोजगारी र भिसा परिवर्तनमा देखिएका कठिनाइ तथा स्थायी बसोबासको प्रक्रियामा बढेको अनिश्चितताले विद्यार्थीको निर्णयमा प्रभाव पारेको छ। यसले नेपालबाट विदेशिने शैक्षिक विद्यार्थीमार्फत प्राप्त हुने विदेशी मुद्रा आम्दानीमा समेत असर पर्न सक्ने उनको भनाइ छ।
बेलायतका विश्वविद्यालयले पनि सरकारलाई नीतिमा पुनर्विचार गर्न आग्रह
अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घट्दै गएपछि बेलायतका विश्वविद्यालयहरूले सरकारलाई आप्रवासनसम्बन्धी प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेका छन्।
अनलाइनखबरले उल्लेख गरेको फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार यस शैक्षिक वर्षमा बेलायतका विश्वविद्यालयमा नयाँ अन्तर्राष्ट्रिय स्नातकोत्तर विद्यार्थी भर्ना करिब २० प्रतिशतले घटेको छ।
त्यस्तै, विश्वभरका ४३७ विश्वविद्यालयका प्रशासकलाई समेटेर गरिएको Studyportals को सर्वेक्षणले बेलायतमा अन्तर्राष्ट्रिय स्नातकोत्तर भर्ना १९ प्रतिशतले घटेको देखाएको छ। सर्वेक्षणमा सहभागी ४१ बेलायती संस्थामध्ये ७९ प्रतिशतले अन्तर्राष्ट्रिय स्नातकोत्तर भर्ना घटेको बताएका छन्।
युनिभर्सिटिज यूकेकी प्रमुख कार्यकारी भिभियन स्टर्नले विद्यार्थी भर्ना र भिसासम्बन्धी प्रतिबन्धबारे पुनरावलोकन गर्न आग्रह गर्दै सम्बन्धित निकायलाई पत्र लेखेको समाचारमा उल्लेख छ।
नेपाली विद्यार्थीको संख्या घटेको हो कि नयाँ भर्ना मात्र?
यस विषयमा एउटा महत्वपूर्ण तथ्य छुट्याउन आवश्यक छ। बेलायतमा नेपाली विद्यार्थीको भिसा स्वीकृति घटेको भए पनि बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको कुल संख्या अघिल्लो शैक्षिक वर्षमा भने उल्लेख्य रूपमा बढेको थियो।
उच्च शिक्षा तथ्यांक संस्था (HESA) का अनुसार सन् २०२४/२५ शैक्षिक वर्षमा बेलायतका उच्च शिक्षण संस्थामा १७ हजार ३८५ नेपाली विद्यार्थीले नयाँ अध्ययन सुरु गरेका थिए। यो संख्या सन् २०२०/२१ को तुलनामा दस गुणाभन्दा बढी हो। सन् २०२४/२५ मा नेपालबाट आएका विद्यार्थीको भर्ना अघिल्लो वर्षको तुलनामा पनि ९२ प्रतिशतले बढेको थियो।
यसैबीच, बेलायतका विश्वविद्यालयमा अध्ययनरत सबै अन्तर्राष्ट्रिय विद्यार्थीको कुल संख्या भने सन् २०२४/२५ मा अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत घटेको HESA ले जनाएको छ।
त्यसैले पछिल्लो गिरावटलाई बेलायतमा रहेका सबै नेपाली विद्यार्थीको संख्या घटेको अर्थमा बुझ्नु हुँदैन। अहिलेको तथ्यांकले मुख्यतः नयाँ विद्यार्थी भिसा आवेदन, स्वीकृति र नयाँ भर्नामा आएको कमी देखाउँछ।
अब नेपाली विद्यार्थीको बेलायत यात्रा कस्तो होला?
बेलायतमा विद्यार्थी भिसा आवेदन र नयाँ भर्ना घट्दै जाँदा नेपालका शिक्षा परामर्शदाता, विश्वविद्यालय तथा विद्यार्थीमाझ यसको प्रभावबारे चासो बढेको छ।
विद्यार्थीका लागि बेलायत रोज्नुअघि विश्वविद्यालयको आधिकारिक मान्यता, पाठ्यक्रमको गुणस्तर, शुल्क, आर्थिक क्षमता, भिसाका सर्त र अध्ययनपछिका सम्भावनाबारे स्पष्ट जानकारी लिनु आवश्यक देखिएको छ।
बेलायतको उच्च शिक्षा क्षेत्रले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना घटेको विषयमा सरकारलाई नीतिगत पुनरावलोकन गर्न आग्रह गरिरहेको छ। तर विद्यार्थी भिसा र आश्रितसम्बन्धी नियममा तत्काल परिवर्तन हुने घोषणा भएको छैन।
आगामी नोभेम्बर २६ मा सार्वजनिक हुने सन् २०२६ को तेस्रो त्रैमासिक तथ्यांकले नेपाली विद्यार्थी बेलायत जाने क्रम निरन्तर घटिरहेको छ वा पछिल्लो गिरावटमा सुधार आएको छ भन्ने थप संकेत दिनेछ।

