काठमाडौँ। लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले उक्त नियुक्ति कानुनी प्रक्रिया र प्रचलित मापदण्डविपरीत भएको दाबी गर्दै नियुक्ति खारेज गर्न माग गरेको हो।
अभियानका संयोजक सुनिल सिंहसहित वीरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दायर गरेका हुन्।
रिट निवेदनमा आनी छोइङ डोल्मासँग सम्बन्धित नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पूरा नगरी नियुक्ति गरिएको दाबी गरिएको छ। निवेदकहरूले नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसलाई बदर गर्न माग गरेका छन्।
अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको कानुनी वैधतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराइएको थियो। तर, अभियानले उठाएका प्रश्नलाई सरकारले बेवास्ता गरेको उनको आरोप छ।
अभियानले सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको र सरकारले आनी छोइङ डोल्मालाई कोषको कार्यालयमा उपस्थित गराई कार्यभार सम्हाल्ने वातावरण बनाएको आरोपसमेत लगाएको छ।
नियुक्तिको संवैधानिक तथा कानुनी वैधताको परीक्षण, विधिको शासनको पालना र नियुक्तिसम्बन्धी प्रक्रिया कानुनसम्मत भए–नभएको निरूपणका लागि सर्वोच्च अदालतमा जानुपरेको अभियानले जनाएको छ।
रिट निवेदनमा पहिलो सुनुवाइका लागि भोलि मंसिर ९ गते पेसी तोकिएको अभियानले जानकारी दिएको छ। अब सर्वोच्च अदालतको प्रारम्भिक सुनुवाइ र त्यसपछिको आदेशले नियुक्तिसम्बन्धी विवादको कानुनी प्रक्रिया अघि बढाउनेछ।