काठमाडौं। शक्तिशाली बन्दै गएको अल निनोका बीच यस वर्षको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उत्तरी हिमाली क्षेत्रमा सामान्यभन्दा बढी हिमपात हुने संकेत देखिएको छ भने भारी वर्षाका कारण केही हिमाली क्षेत्रमा बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले २३ नोभेम्बरमा सार्वजनिक गरेको ‘हिन्दुकुश हिमालय विन्टर आउटलुक २०२६’ अनुसार नेपालसहित अफगानिस्तान, बंगलादेश र उत्तरी म्यानमारका केही क्षेत्रमा हिउँदमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ।
इसिमोड, बेइजिङ नर्मल युनिभर्सिटी र चाइनिज एकेडेमी अफ साइन्सेजको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनले हिन्दुकुश हिमालय क्षेत्रमा मौसमको अवस्था एकनास नहुने देखाएको छ। पश्चिमी हिमालयका केही क्षेत्रमा भारी वर्षाका कारण स्थानीय बाढी, पहिरो र हिमपहिरोको जोखिम हुन सक्ने उल्लेख छ।
नेपालमा वर्षा र हिमपातको कस्तो अनुमान?
प्रतिवेदनअनुसार नेपालभर औसतभन्दा बढी वर्षा हुने संकेत छ। यसको प्रभाव मध्य क्षेत्रमा बढी देखिन सक्ने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा सामान्यभन्दा बढी तापक्रम रहने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा तापक्रम तुलनात्मक रूपमा कम हुन सक्ने जनाइएको छ।
त्यस्तै, नेपालको उत्तरी हिमाली क्षेत्रमा हिउँको सतह सामान्यभन्दा बाक्लो रहने अनुमान छ। हिमपातको मात्रा र हिउँ जम्ने अवस्थाले आगामी वर्ष नदीको बहाव, सिँचाइ तथा जलविद्युत् उत्पादनमा समेत प्रभाव पार्न सक्छ।
तर नेपालका अधिकांश नक्साङ्कित वन तथा घाँसेमैदान क्षेत्रमा डढेलोको जोखिम निकै कम देखाइएको छ। पश्चिमी र पूर्वी सीमावर्ती केही क्षेत्रमा भने न्यूनदेखि मध्यम जोखिम रहने अनुमान छ।
अल निनोले बढायो विश्वव्यापी मौसमको चिन्ता
अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) को नोभेम्बर १२ मा सार्वजनिक प्रतिवेदनअनुसार अल निनो थप शक्तिशाली बन्दै गएको छ। सन् २०२७ को जनवरीदेखि मार्चसम्म शक्तिशालीदेखि अति शक्तिशाली अवस्था कायम रहने सम्भावना ७९ प्रतिशतभन्दा बढी रहेको एनओएएको आकलन छ।
सन् १९५० यताका अल निनो घटनामध्ये ऐतिहासिक रूपमा अत्यन्त शक्तिशाली घटना बन्ने सम्भावना अक्टोबर–डिसेम्बर र नोभेम्बर–जनवरी अवधिका लागि करिब ६० प्रतिशत रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले यसअघि सेप्टेम्बरमा सार्वजनिक गरेको अद्यावधिक पूर्वानुमानमा अल निनो सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झन्डै १०० प्रतिशत रहेको जनाएको थियो। संगठनले यसले विश्वका विभिन्न क्षेत्रमा तापक्रम र वर्षाको ढाँचामा परिवर्तन ल्याउन सक्ने चेतावनी दिएको छ।
यद्यपि अल निनो शक्तिशाली हुँदैमा सबै देशमा एउटै प्रकारको मौसम वा विपद् निम्तिन्छ भन्ने हुँदैन। यसको प्रभाव भौगोलिक अवस्था, मौसमको समय र अन्य जलवायु प्रणालीअनुसार फरक पर्न सक्छ।
हिउँदको पूर्वानुमानसँगै विपद् तयारीमा जोड
नेपाल र भुटानले यस वर्षको मनसुन अवधिमा विनाशकारी बाढीपहिरो र हिमाली विपद्को सामना गरेका थिए। यस्तो पृष्ठभूमिमा सार्वजनिक भएको इसिमोडको प्रतिवेदनले हिउँदमा पनि विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ।
प्रतिवेदनका अनुसार मौसमी पूर्वानुमानलाई स्थानीय स्तरका छोटो अवधिका मौसम सूचनासँग जोडेर प्रयोग गर्न आवश्यक छ। सम्भावित जोखिम भएका बस्ती, यातायात मार्ग र हिमाली क्षेत्रमा समयमै चेतावनी प्रणाली प्रभावकारी बनाउनु महत्त्वपूर्ण हुने विज्ञहरूको सुझाव छ।
इसिमोडका विज्ञहरूले हिमपातको अवस्था नियमित अनुगमन गर्न, जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली बलियो बनाउन र स्थानीय निकायलाई आवश्यक तयारीका लागि स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
अल निनो प्राकृतिक जलवायु प्रक्रिया हो, जसले प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम बढाउँछ। यसले विश्वका विभिन्न क्षेत्रमा हावा, वर्षा र तापक्रमको नियमित ढाँचामा परिवर्तन ल्याउन सक्छ। त्यसैले आगामी हिउँदमा नेपालका विभिन्न क्षेत्रमा यसको प्रभाव कस्तो देखिन्छ भन्ने विषयमा मौसमसम्बन्धी अद्यावधिक सूचना र स्थानीय पूर्वानुमानलाई ध्यान दिनुपर्ने देखिन्छ।