शनिवार, २०८३ मंसिर ५
EN
मेनु

हरिबोधिनी एकादशीमा चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधिनी एकादशीमा चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नजर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको उनले बताए।
  • मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमनमा वृद्धि गर्न नगरपालिकाले यस वर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए।
  • चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र प्रहरी परिचालन गरेको छ।

भक्तपुर। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायणमध्येको जेठो नारायणका रुपमा मानिँदै आएको नगरपालिका–४ स्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहान २ः०० बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको बताए।

पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा पुजिने चाँगुनारायणको पहिलो दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको र चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेको बताए।

धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजय प्राप्त गरेपछि थकित हुनुभएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले आजको दिनलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रुपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिए।

आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नजर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको उनले बताए।

मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमनमा वृद्धि गर्न नगरपालिकाले यस वर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए। मन्दिरमा सयपत्री फूलका मालाहरुले सिँगारिनुका साथै रात्रिकालीन प्रहरका लागि झिलीमिली बत्तीले निकै रौनक दिएको उनले बताए। उनले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको बताए।

नगर प्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँच वटा नाकाबाट मन्दिर आउनसक्ने गरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको बताए।

नगर प्रमुख खत्रीले भने, “चाँगुनारायण नगरपालिकाभित्रको यस मन्दिर ऐतिहासिक धरोहर हो, चाँगुनारायण मन्दिरको प्रचारप्रसार गरी विश्वभर यसको महत्व र महिमा पुर्याउन नगरपालिका लागिरहेको छ, चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ।”

चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र प्रहरी परिचालन गरेको छ। उनले मन्दिरमा लाइन व्यवस्थापन गर्न डोरी लगाएर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज एवं छिटो दर्शन गर्ने व्यवस्था गरिएको बताउँदै बिहान ४ः०० बजेदेखि नै नगरपालिकाको टोली मन्दिरको मेला व्यवस्थापनमा खटिएको बताए।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचँगुकनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने परम्परा रहेको छ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराउने परम्परा रहेको छ। आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने चलन छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ