काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-१ मा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको हतियारले गोली प्रहार गर्दा ज्यान गुमाएका छन्।
उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा खटिएका प्रहरी हवल्दार डोलनाथ ढकालको बिहीबार साँझ मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ आफ्नै निवासमा रहेका ढकालले न्यायाधीशको सुरक्षाका लागि साथमा रहेको पेस्तोलबाट आफ्नै टाउकोमा गोली प्रहार गरेका थिए।
घरभित्र गोली चलेको आवाज सुनेलगत्तै परिवारका सदस्यहरूले गम्भीर घाइते अवस्थामा रहेका उनलाई उद्धार गरी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए।
तर, अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरी हवल्दार ढकालले किन यस्तो कदम चाले भन्नेबारे खुल्न सकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।