२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

महिनावारी हुँदा किन हुन्छ अत्याधिक पिडा ? (पिडा कम गर्ने घरेलु तरिका सहित)

1638 Shares

–डा. यञ्जन गैह्रे
महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई ‘डिस्मेनोरिया’ भनिन्छ ।

कतिपय अवस्थामा दुखाई लामो समयसम्म पनि हुन सक्छ । केहि महिलाले दुखाई सहन नसकेर आफूखुसी औषधी सेवन गर्ने गरेको पाइन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि राम्रो होइन । दुखाई बढी भए पनि चिकित्सकको सल्लाह अनुसार मात्र औषधी सेवन गर्नुपर्छ । डिस्मेनोरिया प्राइमरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ ।

प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ । दुखाई बढ्दै गएमा खुट्टा र टाउँको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने लक्षण देखिन सक्छन् । कसैकसैलाई पखाला पनि लाग्ने पनि हुन्छ । यसका कारणहरुमा कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्माेनहरुको असन्तुलन हुनु हो । महिनावारी हुँदा पाठेघर खुम्चिने र तन्किने हुनाले तल्लो पेट दुख्छ । महिनावारीमा यौनाङ्गमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली साँघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्दछ । यो वंशानुगत कारणले पनि हुन सक्छ । अत्याधिक मोटोपना र सुखमय जीवनशैली बिताउने युवतीलाई पनि यस्तो समस्याको सम्भावना बढी हुन्छ ।

सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई हुने गर्छ । यो प्राय विवाहिता महिलामा देखिने समस्या हो । यसका लक्षणहरुमा महिनावारी समयमा नहुनु र हुँदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनाङ्ग दुख्नु, बाँझोपना र अत्याधिक सेतो पानी बग्नु आदि हुन् । यस्तो अवस्थामा औषधीको सेवन गर्दा पनि दुखाई कम नहुन सक्छ । प्रजनन रोग, अण्डाशय वा अण्डबाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आइयुसीडी तथा कपर–टीको प्रयोग, अनियमित औषधीको प्रयोगका कारण पनि यस्तो समस्या आउँछ । डिस्मेनोरिया आफैमा रोग होइन तर अन्य रोगको लक्षण हो । त्यसैले समयमै रोगका पहिचान गरी उपचार तर्फ लाग्नु पर्छ ।

दुखाई कम गर्ने घरेलु तरिकाः

१) दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो । महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस्, यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईलाई दुध मिठो लाग्दैन भने तपाईले क्याल्सियमको चक्की पनि खान सक्नुहुन्छ ।

२) मेवाः महिनावारी भएको बेला खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुदैन । जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।

३) गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

४) घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पिडालाई कम गर्न मद्यत गर्र्दछ ।

५) तुलसीः पिडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६) तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

७) अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

८) व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । रक्त प्रवाहलाई राम्रो गराउन
व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९) चुकन्दरको ताजा रस सानो गिलासको १ गिलास (200ml) दैनिक बिहान १ महिनासम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई कम गर्न मद्दत पुग्दछ ।

योग तथा प्राकृतिक चिकित्साः

१) महिनावारीका बेलामा रगत कम देखिएको छ र दुखाई अत्यन्त बढी छ भने निमपानीको तातो कटिस्नान लिनाले तत्काल पिडा कम गर्दछ । यस्तो बेला बिहान र बेलकुा एक हप्तासम्म २०–३० मिनेट लिनु लाभदायिक हुन्छ ।

२) उष्णपादस्नानस् ३८◦c देखि ४०◦c सम्मको तातो पानीमा Epsom salt (mgso4) ५० ग्राम हालेर हरेक दिन विहान र बेलुका आफ्नो दुवै खुट्टा पानीमा डुबाउनु पर्दछ ।

३) महिनावारी बन्द भएको तीन दिनबाट महिनावारी सुरु हुनु ३ दिन अगाडि सम्म प्रत्यक दिन तातो कटिस्नान लिनाले यो रोगबाट पूर्ण रुपमा छुट्कारा पाउन सकिन्छ ।

४) एनिमा र पेट कम्मर मालिस गर्नाले पनि पिडाबाट छुट्कारा पाउन सकिन्छ ।

५) नियमित थेरापेटिकल (Therapeutical) योग, व्यायाम र सूर्य नमस्कार जस्ता आसन र प्राणयाम गर्नु पर्दछ ।

(गैह्रे प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन्)

प्रतिक्रिया