मंसिर १९ -अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई मानव तस्करीको आरोप लागेको छ । न्यूज ट्वान्टी फोरको सिधा कुरा जनतासँ नामक कार्यक्रममा भिडियो कलमाफर्त अस्ट्रेलियामा बस्दै आएका वाङ्छु शेर्पाले राजदूतमाथि यस्तो आरोप लगाएका थिए । उनले राजदूत शेर्पाले लाखौँ पैसा लिएर मानव तस्करी गरेको र आफु र आफनो श्रीमतीलाई समेत फसाई जेल हालेको आरोप लगाएका थिए ।
राजदूत शेर्पामाथि मानव तस्करीको आरोप लागेपछि नेपाली कांग्रेसले शेर्पामाथि छानबिन हुने पर्ने माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक बिज्ञप्ती जारी गर्दे राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप लाग्दासमेत यस सम्बन्धमा सरकारले अनुसन्धान नथालेको प्रति आपत्ती जनाउँदै सरकारसंग जवाफ मागेका छन् ।
बिज्ञप्तीमा भनिएको छ यो विषय हामीले गम्भीर रुपमा लिएका छौँ । निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले झनै गम्भीर र दुःखद रुपमा लिएका छौं’ । प्रवक्ता शर्माले भनेका छन् ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो ।
अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं’ । घटनाको तत्कालै छानबिन गर्न , अनुसन्धानका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी साबित भए बर्खास्त गर्न पनि सरकारको ध्यानार्कषण गराएको छ ।
उता अस्ट्रेलियास्थित नेपाली राजदूतावासले भने शेर्पाविरूद्ध एक फरार अभियुक्त वाङ्छु शेर्पाले झुठो आरोप लगाई छबीमा दाग लगाउँन खोजेको र त्यस्ता व्यक्तिको अभिव्यक्तिमा विश्वास नगर्न बिज्ञप्ती जारी गर्दे आग्रह गरिसकेको छ । वाङ्छु शेर्पामाथि क्यानबेरास्थित नेपाली राजदूतावासबाट बहुमूल्य सामान चोरेर फरार रहेको बताएको छ ।