आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा चार्टड विमान राखिएको छ। तीमध्ये दुईटा सरकारी हुन्। म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन जहाज चार्टर्ड गरी बिहीबार काठमाडौं आएका हुन्।
उनीहरू आएकै दिन निजी जहाज ल्याएर आउने अर्की मान्छे भने सरकारी होइनन्। न त उनी उद्योगी वा व्यापारी हुन्। बरू यी दुबै जना उनैको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं ओर्लिएका हुन्।
बमबार्डिएर सिआरजे सिरिजको निजी जहाज ल्याएर काठमाडौं आउने ती महिला कोरियाली नागरिक हाक जा हान मुन हुन्। उनको संस्था युनिभर्सल पिस फेडेरेसनको नेपाल शाखाले आजदेखि होटल हायातमा ४ दिने समिट आयोजना गरेको छ। जसमा विभिन्न देशका बहालवाला र पूर्वसरकार र राष्ट्रप्रमुख सहभागी हुँदैछन्। त्यसमा ओसिनिया तीन टापु राष्ट्रका प्रमुख पनि छन्।
यिनै भिभिआइपीको सवारीका लागि ट्राफिक प्रहरीले ४ दिनसम्म उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थिए। चौतर्फी आलोचनापछि जोर बिजोर नियम फिर्ता भएको छ तर सवारी जामले दैनिकी बिथोलिएको छ।काठमाडौंवासीको दैनिकी अस्तव्यस्त पार्ने गरी समिट आयोजना गर्ने अन्तर्राष्ट्रिय गैरसकारी संस्थाकी अध्यक्ष मुन इसाई धर्मकी प्रचारक हुन्।
काठमाडौं समिटको उद्देश्यमध्ये एक विवाह र परिवारलाई मजबुद् बनाउने भन्ने छ। समिटमा जलवायु परिवर्तन, शान्ति र विकास, सुशासन, द्वन्द्व समाधान र विवाह र परिवारलाई मजबुद् बनाउने विषयमा छलफल गर्ने बताइएको छ। यस्ता छलफलले संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यलाई सघाउने जनाइएको छ।
यति ठूलो कार्यक्रम आयोजना गर्ने मुन विवादास्पद व्यक्ति हुन्। १० दिनअघि उनी अफ्रिकी मुलुक जिम्बावे पुगेकी थिइन्। त्यहाँको चर्चहरूको परिषद्ले उनको कार्यक्रममा सहभागी नहुन क्रिश्चियन समुदायलाई आग्रह गरेको थियो। त्यहाँको सूचना मन्त्रालयको निमन्त्रणामा जिम्बावे पुगेकी मुनले पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकारलाई २०/२० डलर बाँडेकी थिइन्।
को हुन् मुन?
अनुयायीले ‘आमा’ वा ‘सत्य आमा’ भनेर सम्बोधन गर्ने मुन १९४३ मा हाल उत्तर कोरियामा पर्ने सिन्ली भन्ने ठाउँमा जन्मिएकी हुन्।उनकी आमा क्रिश्चियन थिइन् भने बुवा एक उपदेशकका भक्त थिए।पाँच वर्षकी हुँदा उनका परिवारलाई कम्युनिष्टहरू पक्रेका थिए। ११ दिनपछि रिहा भएका उनीहरू थेगु भन्ने ठाउँमा आए। कोरियन युद्धताका उनीहरू त्यही बसे।
पछि उनीहरूको परिवार चून चुन भन्ने ठाउँमा सर्यो। मुनले त्यहीँ विद्यालय शिक्षा लिइन्। त्यही क्रममा उनकी आमा र मुन युनिफिकेसन चर्चका सदस्य भए।
१९६०मा युनिफिकेसन चर्चका संस्थापक सुन म्युङ मुनसँग उनको विवाह भयो। त्यतिबेला उनी १७ वर्षकी थिइन् भने सुन ४० वर्षका थिए। सुनको यो दोस्रो विवाह थियो।
१९५४ मा युनिफिकेसन चर्चको स्थापना गर्दा सुनले आफूलाई मसिहा घोषणा गरेका थिए।त्यसपछि उनी युनिफिकेसन चर्चकी सहसंस्थापक बनिन्, यसलाई अहिले फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एण्ड युनिफिकेसन भनिन्छ।मुन दम्पत्तिका १४ सन्तान भएका थिए ,तीमध्ये १० जना अहिले पनि छन्। उनीहरूका ४० भन्दा बढी नाति-नातिनी छन्।
सुन र मुनको विवाह भएकै वर्षदेखि विवाहित जोडीलाई आशिर्वाद दिने चलन सुरू गरेका थिए। पछि यो दम्पत्तिले कोरियादेखि अमेरिकासम्म विवाह गर्न लागेका र विवाहित जोडीलाई आशिर्वाद दियो।सन् १९९२ मा उनले पतिसँग मिलेर वुमन्स फेडेरेसन फर वर्ल्ड पिस स्थापना गरेकी थिइन्।
युनिभर्सल पिस फेडेरेसन सन् २००५ मा स्थापना भएको हो। यसको शुभारम्भका लागि मुन दम्पत्तिले सो साल १०० दिनमा विश्वका १०० वटा शहरको भ्रमण गरेका थिए। युपिएफका संसारभरि शाखा छन्। सन् २०१२मा उनका पतिको मृत्यु भएपछि मुनले यो संस्थाको सबै जिम्मेवारी सम्हालेकी छन्। अनुयायीले उनलाई अहिले ‘को-मसिहा’ भन्छन्।
पतिको मृत्युपछि उनको धार्मिक लिगेसीसँगै सम्पत्ति पनि मुनको नाममा आएको छ। मुन परिवारको कोरियादेखि अमेरिकासम्म रियल स्टेट, मिडिया, होटल, सी फुड कम्पनीमा लगानी छ।विश्वभरि युनिफिकेसन चर्चका ३० लाख सदस्यको भएको बताइन्छ। ती सदस्यहरूले दानको रूपमा पैसा चर्चलाई दिन्छन्।
काठमाडौंमा भएको समिटका सहयोगीमा नेपाल सरकार र शान्तिका लागि सांसदहरूको अन्तर्राष्ट्रिय संघ (आइएपिपी) छन्। आइएपिपीकी संस्थापक पनि मुन नै हुन्।आयोजक युपिएफको नेपाल शाखाका अध्यक्ष पूर्वमन्त्री एकनाथ ढकाल हुन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ढकाल गरिबी निवारण मन्त्री बनेका थिए।गत वर्षको संसदीय चुनावको केही समयअघि ढकालले आफ्नो दल तत्कालीन नेकपा एमालेमा मिसाएका थिए। (एजेन्सीहरूको सहयोगमा)