काठमाडौँ । १२ वर्षको कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारका लागि थापाथलीमा रहेको प्रसूतिगृहमा भर्ना गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ मा रहेको माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बन्नुभएको थियो । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उहाँलाई हेटौँडामा रहेको हेटौँडा अस्पतालबाट थप उपचारका लागि मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो ।
प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतमले भन्नुभयो, ‘हामीले उहाँको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेका छौँ, गर्भवती भएको आठ महीना देखिन्छ, अहिलेको स्वास्थ्यस्थित सामान्य रहेको छ ।‘
बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक प्रा डा गौतमले भन्नुभयो, ‘गङ्गामायाको आवश्यक सबै जाँच शुरु गरेका छौँ, यसका नतिजा आएपछि मात्र अगामी उपचारका बारेमा भन्न सकिन्छ ।’
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्को विशेष पहलमा गङ्गामायालाई उपचारार्थ हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो ।