२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

विशेषबाट सफाइ पाएको १९४ मुद्दा सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार

704 Shares
Spread the love

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएको मुद्दामा धमाधम सर्वोच्चमा पुनरावेदन दिने क्रम बढाएको छ । आयोगले विशेष अदालतको फैसलामा असन्तुष्ट जनाउँदै निरन्तर पुनरावेदन दर्ता गराइरहेको छ ।

साउनयता अख्तियारले विशेषको फैसलामा असन्तुष्ट जनाउँदै १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन दिएको छ । चालू आर्थिक वर्षको असारदेखि फागुनसम्मका १० महिनामा विशेष अदातलको फैसलामा चित्त नबुझाउँदै अख्तियारले १ सय ९४ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।

बिहीबार मात्रै त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको उत्तरपुस्तिका साटफेर गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत सफाइ पाएकाविरुद्ध बिहीबार अख्तियार सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।

अख्तियारले परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पसका गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षार्थीविरुद्ध २०७६ मंसिरमा भ्रष्टाचारको अभियोग लगाएको थियो ।

जसमा अभियुक्तहरूले इन्कारी बयान दिएको, उत्तरपुस्तिकाको लेखाइ कसको हो भन्ने परीक्षण प्रतिवेदनमा देखिन नआएको, अभियुक्तले कसुर गरेको ठोस, भरपर्दो र शंकारहित पुष्टि नभएको उल्लेख गरी सफाइ दिएको थियो ।

अभियुक्तले इन्कारी बयान दिँदैमा निर्दोष भन्न नमिल्ने अख्तियारको जिकिर छ । अख्तियारको दाबीमा विशेषज्ञले मौकामा दिएको प्रतिवेदनलाई अदालतसमक्ष समेत उपस्थित भई सनाखत गरिदिनुका साथै विवादित उत्तरपुस्तिका आपसमा तुलना गर्दा अक्षरमा हुने गुण र विशेष मिलेको देखिएको थियो । एउटै व्यक्तिले लेखेको अवस्था रहेको र सो कुरा प्रमाण ऐन, २०३१ बमोजिम प्रमाणका रूपमा लिनुपर्ने व्यवस्था भएको अख्तियारको दाबी छ ।

सर्वोच्चमा पुनरावेदन गरिएका मुद्दामा घुस, राजस्व चुहावट, गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइ, गैरकानुनी सम्पत्ति आर्जन, सार्वजनिक सम्पत्ति नोक्सानीलगायत रहेको अख्तियारले जनाएको छ । विशेष अदालतको फैसलामा चित्त नबुझेर अख्तियार सर्वोच्च जाने क्रम व्यापक बढेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया