काठमाडौ । यसै साता जगेडा टायरको प्रबन्ध गर्न नसकेर ३६ घण्टा दिल्लीमै रोकिएको नेपाल वायुसेवा निगमको जहाज जगेडा पाईलटको व्यवस्था गर्न नसक्दा थप दुई उडान रोकिएका छन् ।
विमानको को–पाइलटको स्वास्थ्यमा समस्या आएपछि शनिबार राती दुवई उड्न लागेको नेपाल वायुसेवा निगमको उडान रद्द भएको छ । को–पाइलटलाई पेट दुखेर पखाला लागेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा ५ सय ४३ यात्रु अलपत्र परेका हुन् ।
उडान नम्बर–आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको छ । सोहि उडानमार्फत दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौं आउने उडान पनि रद्द हुँदा उक्त उडानका यात्रुलाई समेत निगमकै खर्चमा होटलमा राखिएको छ ।
शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को(पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण को पाईलट विष्टलाई पखाला लागेपछि उनले आफू विमारी भएको रिपोर्ट गरेका थिए ।
पाखाला लागेको र अत्याघिक पेट दुखेका कारण कोपाइलट विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका जगेडा पाइलटले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमले उडान रद्द गर्नु परेको स्रोतले जनाएको छ ।
उडान रद्द भएपछि बोर्डिङ भइसकेका यात्रुले निगम व्यवस्थापन प्रति चर्काे नारावाजी गरेका थिए । झन्डै दुई घण्टाको नारावाजीपछि निगले काठमाडौँमा रहेका यात्रुलाई गौशाला, ज्ञानेश्वर र सिनामंगलमा रहेका विभिन्न होटलमा लगेर राखेको थियो । अन्तर्राष्ट्रियतर्फको उडान रद्द हुँदा यात्रुलाई तारे होटलमा लगेर राख्नुपर्ने भएपनि निगमले सस्ता होटलमा यात्रुलाई व्यवस्थापन गर्ने भएपछि उक्त निर्णयको समेत विरोध भएको थियो ।