२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

जम्बो गठबन्धन सरकारमा पुरानैलाई प्राथमिकता

1448 Shares
Spread the love

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नौ दलीय जम्बो गठबन्धन सरकारमा पुरानै नेताहरूलाई प्रथमिकता दिइएको छ ।

शुक्रबार मन्त्रिपरिषद् विस्तारका क्रममा बनेका १० मन्त्रीमध्ये अधिकांश नेताहरू पटकपटक मन्त्री भइसकेकाहरू छन् । २०५४÷५५ सालदेखि अहिलेसम्म ६–७ पटकसम्म मन्त्री भएकाहरूले नै यसपटक पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यो मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका छन् भने उनका मन्त्रीहरूमा दशौं पटकसम्म मन्त्री भएका पनि परेका छन् ।

उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले २०५५ सालपछि पटक–पटक गरी ७ पटक गृहसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै, अर्थमन्त्री डा प्रकाशशरण महत २०६६ सालदेखि हालसम्म चारपटक मन्त्री बनिसकेका छन् भने कांग्रेसको कोटाबाट मन्त्री बनेका सीता गुरुङ एकपटक राज्यमन्त्री भएर अहिले मन्त्रीमा पदोन्नति भएका छन् । रमेश रिजाललाई भने कांग्रेसले पहिलोपटक सरकारमा पठाएको हो ।

त्यस्तै, माओवादी केन्द्रबाट मन्त्री हुनेहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा पनि तीन÷चार पटक मन्त्री भइसकेका पुरानै अनुहार हुन् । अशोक राई, शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि पटक पटक मन्त्री भइसकेका छन् ।

खाली रहेको १६ मध्ये १० मन्त्रालयले शुक्रबारबाट नेतृत्व पाएसँगै १७ सदस्य मन्त्रीमण्डल गठन भएको छ । अझै ६ वटा मन्त्रालय प्रधानमन्त्री मातहत छन् । संसद्को सबैभन्दा ठूलो एवं सत्ता साझेदार दल नेपाली कांग्रेसले भागबण्डाको आन्तरिक किचलोको कारण ८ मन्त्रालय पाएकोमा शुक्रबार चार जानलाई मात्रै मन्त्रिपरिषद्मा पठाएको छ ।

बाँकी चार जनाका विषयमा अझै टुंगो लागि नसकेको जानकारी दिँदै कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने– ‘यसपटक मन्त्रिपरिषद्मा नागरिकलाई सर्भिस डेलिभरी दिन सक्ने नयाँ नेताहरूलाई पठाउनुपर्ने अधिकांश नेताहरूको भनाइ हो । नयाँ र पुराना नेताहरूलाई पठाउँदा सरकारको प्रभावकारिता बढ्थ्यो । तर, हाम्रोले मात्रै होइन, सबै दलहरूले पुरानैलाई प्रथमिकता दिएको पाइयो ।’

प्रतिक्रिया