कार्तिक २९ -नेपाली क्रिकेटका स्पिनर खेलाडी सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आगामी सिजन पनि खेल्ने निधो भएको छ । उनले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका थिए र आगामी सिजन पनि उनले सोही टिममा रहेर खेल्ने भएका छन् ।
१२औं सिजनको आर्इपीएलका लागि दिल्लीले उनलाई रिटेन गरेको हो । उसले सन्दिपसहित १४ जनालाई भने रिटेन गरेको छ । गएको सिजनमा उनलाई ढिलो गरी मौका दिईएको थियो । खेल दिल्लीको अघिल्लो चरण पुग्ने सम्भावना सकिएपछि तीन खेलमा उनलाई अवसर दिईएको थियो जहाँ उनले आफनो चमत्कारी खेल प्रर्दशन गरे ।

त्यतीबेला नेपालबाट मात्र नभई भारतमै पनि सन्दिप जस्तो प्रतिभावान खेलाडीलाई ढिलो मौका दिईएको भन्दै आलोचना गरिएको थियो । आईपीएलपछि सन्दिपले विभिन्न लिगहरु खेलिसकेका छन् । बिदेशका विभिन्न लिगहरु खेलेर पनि उनले चर्चा बटुलिसकेका छन् ।