२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

दुई नेपालीसहित तीनजनालाई पोर्चुगलमा जेल सजाय

1560 Shares
Spread the love

पोर्चुगल : यहाँस्थित इभोरा पुनरावेदन अदालतले मानव तस्करीका विभिन्न २३ वटा मुद्दामा दुई नेपाली नागरिकसहित तीनजनालाई जेल सजायको अन्तिम फैसला सुनाएको छ ।

ती दुई नेपालीसहित तीनजनालाई १४ र १३ वर्षको जेल सजायको अन्तिम फैसला सुनाएको हो। यो सजाय पाउनेमा ४२ वर्षीय पोर्चुगिज कृषि व्यवसायीसहित ३३ वर्षीय नेपाली कृषि व्यवसायी नबिन गिरी र उनका ३० वर्षीय नेपाली कर्मचारी उपेन्द्र पौडेल छन्।

मोरङ्गोसोस कम्पनीका मालिक पोर्चुगिज नागरिक पेद्रो विटाल र एटिमामुन्डोको कम्पनीका मालिक नेपाली नागरिक नवीन गिरीले गरेको अपिलमाथि इभोरा पुनरावेदन अदालतले अन्तिम दण्ड सुनाएको हो । नविन गिरी हाल फरार छन् । उनीविरुद्ध चाँडै रेडकर्नर नोटिस जारी गरिने जानकारी पोर्चुगलको अध्यागमन प्रहरी सेफले जनाएको छ ।

उनीहरु तीनैजना सन् २०१६ मा पक्राउ परेका थिए  । उनीहरुलाई पोर्चुगलको सन्तराई अदालतले गत सेप्टेम्बरमा १४ र १३ वर्षको जेल सजाय सुनाएको थियो ।

त्यस फैसलाविरुद्ध उनीहरुले इभोरा अदालतमा पुनरावेदन गरेका थिए। पुनरावेदन अदालतले गत जुलाई ५ तारिख अन्तिम सुनुवाइको मिति तोकेको थियो । तर तोकिएको समयमा सुनुवाइ नभएपछि उनीहरुलाई अर्को फैसला नहुन्जेलसम्मका लागि रिहा गरिएको थियो।

यहाँको अध्यागमन प्रहरी सेफले सन् २०१६ मा अल्मारिम नगरपालिकास्थित पासो दो नेग्रोसमा एक स्ट्रबेरी फार्ममा  ‘पोखरा’ अप्रेशन चलाएको थियो । त्यस क्रममा २३ जना नेपाली कृषि कामदारको उद्धार गरिएको थियो  । दयनीय अवस्थामा ती मजदुरको उद्धार गरिएको थियो ।

पोर्चुगिज भाषामा गरिएको करारमा ती कामदारलाई मासिक ५०० युरो तलब दिने उल्लेख थियो । जसमा आवास, खाना खर्चको रकम काटिन्थ्यो । त्यस्तै सामाजिक सुरक्षाबापत प्रतिव्यक्ति मासिक २०० युरो काटिने उल्लेख थियो ।

सेफको अनुगमनमा कृषि मजदुरहरु तीन कोठे कन्टेनरमा बसेको अवस्थामा भेटिएका थिए । जहाँ भान्सा कोठा, बिजुली, झ्याल र चर्पीसमेत थिए । ‘बन्धक’ कै शैलीमा राखिएका ती नेपाली कामदारका आवश्यक कागजात पनि खोसिएको अवस्थामा भेटिएको थियो ।

जेल सजाय सुनाइएका तीनैजनालाई सन्तराइ अदालतले २०१७ सेप्टेम्बरमा मानव तस्करीको अभियोगमा १४ र १३ बर्षको जेल सजाय सुनाएको थियो । त्यसैगरि कृषि मजदुरले त्यहाँ बिताएको समयको आधारमा प्रतिव्यक्ति २५०० युरोदेखि ८००० युरोसम्म क्षतिपुर्ति दिन पनि आदेश भएको थियो ।

प्रतिक्रिया