२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

ब्रिटिश क्याबिनेटद्वारा ब्रेक्जिट सम्झौता अनुमोदन

814 Shares
Spread the love

लन्डन । महिनौँको सघन वार्ताहरूपछि पेश गरिएको युरोपेली संघ इयु छोड्ने ब्रेक्जिट सम्बन्धी सम्झौता प्रस्तावमा सहमति भएको छ।

ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ब्रिटेनको बहिर्गमनसम्बन्धी विस्तृत शर्तहरूबारे इयुसँग भएको मस्यौदा सम्झौतालाई आफ्नो मन्त्रिपरिषदले अनुमोदन गरेको बताएकी छन्।

मन्त्रिपरिषदमा लामो र सघन छलफल भएको उनले बताइन्।

“हाम्रा सामु अप्ठेरा विकल्पहरू थिए। तर यो उपलब्धमध्ये उत्तम विकल्प हो र यो ब्रिटेनको राष्ट्रिय स्वार्थ बमोजिम छ,” उनले भनिन्।

मन्त्रिपरिषदमा ९ जना मन्त्रीहरूले उक्त प्रस्तावको विरोधमा बोलेको बीबीसीलाई थाहा भएको छ।

विपक्षी लेबर दलका नेता जेरेमी कोर्बीनले उक्त सम्झौता ब्रिटेनको राष्ट्रिय स्वार्थ अनुकुल भएको आफूलाई नलागेको बताए।

उनको दलले सो प्रस्तावको विपक्षमा संसदमा मत दिने कि नदिने बारे बिहीवार निर्णय हुने उनले बताए।

सत्ताधारी कन्जरभेटिभ दलभित्रै पनि सो प्रस्ताव विरुद्ध मत बलियो रहेको छ।

अब के हुन्छ?

महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे ब्रिटिश सरकारको निर्णयको युरोपेली नेताहरूले स्वागत गरेका छन्।

युरोपेली युनियनका ब्रेक्जिटसम्बन्धी मुख्य वार्ताकार मिसेल बार्नियरले ब्रिटेनको निर्णय स्वाभाविक रूपमा ब्रेक्जिट कार्यान्वयनतर्फ महत्त्वपूर्ण भनेका छन्।

उनले दुवै पक्षले ‘निर्णायक प्रगति’ हासिल गरेको बताए।

मिसेल बार्नियरतस्वीर कपीराइट EPA

अब यसपछि २७ सदस्य रहेको इयुका नेताहरूको शिखरबैठक डाकिनेछ।

यसै महिना हुनसक्ने सो बैठकले उक्त सम्झौता अनुमोदन गर्नुपर्नेछ।

त्यसपछि पनि सो सम्झौतालाई ब्रिटिश संसद तथा युरोपेली संसदले अनुमोदन गर्नुपर्नेछ।

मार्च २०१९ मा ब्रिटेन औपचारिक रूपमा इयुबाट बाहिरिने छ।

के छ सम्झौतामा?

ब्रिटिश मन्त्रिपरिषदले अनुमोदन गरेको मस्यौदा सम्झौता पाँच सय पचासी पृष्ठ लामो छ।

त्यसमा ब्रेक्जिटपश्चात् सन् २०२० को अन्त्यसम्म सङ्क्रमणकाल रहने उल्लेख छ।

यसमा ब्रिटेनमा इयु देशका नागरिक र इयु देशमा ब्रिटिश नागरिकलाई केहि ग्यारेन्टीहरू प्रदान गरिएको छ।

तथा ब्रिटेनले इयुलाई बक्यौता तिर्ने प्रतिबद्धता त्यसमा रहेको छ।

सबभन्दा जटिल बनेको उत्तरी आयरल्याण्डसँगको सीमाबारे उक्त सम्झौताले इयु र युकेबीच अस्थाइ भन्सार युनियनको उपाय सुझाएको छ।

बिबिसीबाट

प्रतिक्रिया