महिनौँदेखिको वार्तापछि ब्रिटेन र युरोपेली संघ (ईयू) का अधिकारीहरू ब्रेक्जिट अर्थात् ईयूबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदामा सहमत भएका छन्।
मन्त्रिपरिषद् स्रोतले बताएअनुसार यसै हप्ता दुवै पक्षका अधिकारीहरूबीचको सघन छलफलपछि दस्तावेजमाथि प्राविधिक रूपमा सहमति जुटेको हो।
ब्रेक्जिट सम्झौताको मस्यौदामा ब्रिटिश प्रधानमन्त्री टरिजा मेले मन्त्रीहरूको समर्थन जुटाउनुपर्ने भएकोले बुधवार दिउँसो मन्त्रिपरिषद्को विशेष बैठक बस्दैछ।
मस्यौदामाथि प्रधानमन्त्रीले सबै मन्त्रीहरूसँग एक्लाएक्लै छलफल गर्ने बताइएको छ। पछिल्लो सहमतिपछि डलर र युरोको तुलनामा पाउण्डको मूल्य बढेको छ।
तर ब्रिटिश मन्त्रिपरिषद् र संसद्ले सहमतिलाई अनुमोदन गर्न बाँकी रहेकोले त्यो अवस्था ‘छोटो समयका लागि’ भएको विज्ञहरूले बताएका छन्।
ईयूबाट ब्रिटेन अलग्गिनुपर्ने पक्षमा सशक्त धारणा राख्दै आएका बोरिस जन्सन र ज्याकब रीस-मोगसहितका नेताले सम्झौताको मस्यौदामा समेटिएका विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।
त्यसले ब्रिटेनलाई युरोपेली संघको नियन्त्रणमा राखिरहने उनीहरूको तर्क छ।
महत्त्वपूर्ण मतदानहरूमा प्रधानमन्त्री मेलाई समर्थन गर्दै आएको नोर्दन आयरल्याण्डको डेमोक्र्याटिक युनियनिस्ट पार्टीले सम्झौतालाई लिएर ‘निकै गाह्रो’ हुने प्रतिक्रिया दिएको छ।
तर कन्जरभेटिभ पार्टीका प्रमुख सचेतक जुलियान स्मिथले मतदान प्रक्रियामा गए सम्झौताको मस्यौदा अनुमोदित हुनेमा आफू “विश्वस्त” रहेको बताए।
यातायातमन्त्रीले मन्त्रिपरिषद्को बुधवार बस्ने बैठकले निर्णय दिनुअघि ‘धैर्य गर्न’ आग्रह गरेका छन्।
तस्वीर कपीराइट Getty Images ब्रिटेन र युरोपेली संघ दुवैले नोभेम्बरको अन्त्यतिर युरोपेली नेताहरूको शिखर बैठकबाट सहमति सार्वजनिक गरिने अपेक्षा गरेका छन्।
पाँच सय पृष्ठ लामो सम्झौताको मस्यौदामा ब्रिटेन र युरोपेली संघबीच भविष्यमा कस्तो सम्बन्ध हुनेछ भन्नेबारे पनि उल्लेख गरिएको बुझिएको छ। बिबिसी