२०८३, ३० श्रावण शनिबार
×

ट्रेन्डिङ

सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनायो(फोटोसहित)

3798 Shares
Spread the love

काठमाडौँ । नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाएको छ। भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा रहेका ती कुकुरलाई पूजा गरी फूलमाला लगाएर नेपाली सेनाले कुकुर तिहार मनाएको हो। मानिसपछि संसारको सबैभन्दा छिटो बुझ्ने र घुलमिल हुने प्राणिका रुपमा कुकुरलाई लिने गरिन्छ। नेपाली सेनासँग भएका कुकुर भारत, अमेरिका, जर्मनबाट ल्याइएका छन् भने बाँकी स्थानीय उत्पादन छन्।

विदेशबाट मगाइएका उन्नत जातका कुकुरको मूल्य रु दुई लाखसम्म पर्ने गरेको छ भने स्वदेशी कुकुरसमेत रु एक लाख मूल्यमा खरीद बिक्री हुँदै आएको छ। सेनाले कुकुर विष्फोटक पदार्थ पत्ता लगाउन, प्राकृतिक विपत्तिका घटनापछि खोज तथा उद्धार गर्न, गस्तीमा रहने सेनाको सहयोग पुर्याउन, विशिष्ट व्यक्तिको सवारीलाई सुरक्षित तुल्याउन तथा विभिन्न अपराधमा संलग्न अपराधीलाई पत्ता लगाउने काममा प्रयोग गर्दै आएको छ।

सेनाले गुल्ममा रहेका कुकुरलाई चार महिनाको आधारभूत र पाँच महिनाको क्षमता अभिवृद्धि तालीम प्रदान गर्दै आएको छ। कुकुरलाई जन्मिएको दुई वर्षभित्रै दुवै तालीम दिइन्छ भने आठ वर्ष उमेर पुगेपछि सेवा निवृत्त हुने सेनाले मापदण्ड राखेको छ। कुकुरले गर्ने काम र जिम्मेवारीका आधारमा राशन उपलब्ध हुनेछ।

सेनासँग जर्मन सेफर्ड, ल्याब्राडोर, क्रकर स्पाइनल प्रजातिका कुकुर रहेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। सेनाले विभिन्न पर्वका अवसरमा आयोजना हुने कार्यक्रममा कला कौशल र खेल देखाउने काममा पनि कुकुरको प्रयोग गर्दै आएको छ।

आफ्नो मालिकप्रति इमान्दार र वफादार रहने कुकुर थोरै खाने र स्यावासी पाएपछि अत्यन्त खुशी हुने जनावर हो। कुकुरले सुम्पिएको जिम्मेवारी इमान्दारपूर्वक छिटो सम्पादन गर्छ। सेनाले आफ्नो सङ्गठनमा रहेका कुकुरलाई विश्वका द्वन्द्वरत् मुलुकमा शान्ति स्थापना कार्यमा खटिने क्रममा लिबिया, लाइबेरियामा समेत परिचालन गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

प्रतिक्रिया