
तारिक रेहमान
बंगलादेशको विशेष अदालतले पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेतृ बेगम खालिदा जियाका छोरालाई बुधबार जन्मकैद सुनाएको छ।
सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि बम आक्रमणको घटनामा संलग्न रहेको आरोपमा जियाका छोरा तारिक रहमानलाई यो सजाय सुनाइएको हो। रहमान विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)का कार्यवाहक अध्यक्ष हुन्।
उनका पिता जियाउर रहमानले सन् १९७१ मा बंगलादेशलाई सैनिक मेजर हुँदा स्वतन्त्रता सेनानी शेख मुजीबुर रहमानको आदेशमा स्वतन्त्र घोषणा गरेका थिए। पछि उनी सैनिक जर्नेल हुँदै उक्त मुलुकको सातौं राष्ट्रपति बनेका थिए। सन् १९८१ मा सेनाबाटै उनको हत्या भएको थियो।
बंगलादेशमा हालकी प्रधानमन्त्री मुजीबुर रहमानकी छोरी हुन् भने प्रमुख विपक्षी बेगम उनै जियाउरकी श्रीमती हुन्।
भ्रष्टाचार मुद्दामा गत फेब्रुअरीदेखि आमा जियालाई कैद गरिएपछि बेलायतमा शरण लिइरहेका रहमानमाथि पनि यो सजाय सुनाइएपछि यसै डिसेम्बरमा घोषणा गरिएको आम निर्वाचनमा विपक्षी पार्टीको अवस्था झनै नाजुक बनेको छ। रहमानले लण्डनबाटै निर्वाचनको तयारी गर्दै आएका थिए।
१४ वर्षअघिको यसै घटनाका दोषी बताउँदै रहमानबाहेक १९ जना अन्यलाई भने अदालतले मृत्युदण्ड नै सुनाएको छ। उनीहरु अधिकांश विपक्षी पार्टीकै नेता कार्यकर्ता हुन्। जसमध्ये एकजना लुतफुज्जामान बाबर कनिष्ठ गृहमन्त्री रहिसकेका छन्।
फैसलाको जानकारी सरकारी वकिल मुसर्रफ हुसेनले दिएका हुन्। हुसेनले सरकार यो फैसलाबाट पनि असन्तुष्ट रहेको र अन्य जस्तै रहमानलाई पनि मृत्युदण्ड माग्दै सर्वोच्च अदालत जाने तयारीमा रहेको जानकारी दिए।
‘यो फैसलाबाट हामी सन्तुष्ट छैनौं,’ सरकारी वकिल हुसेनले भने, ‘उनीहरु सबैको साथमा विशेष गरेर रहमानलाई पनि मृत्युदण्ड नै सुनाइनु पर्थ्यो।’
सन् २००४ को एउटा र्यालीमा हसिनाले भाषण गर्नेबित्तिकै गरिएको ग्रिनेड आक्रमणमा २४ जनाले ज्यान गुमाएका थिए। त्यस घटनामा पाँच सयजना भन्दा बढी घाइते भएका थिए। मृतक र घाइतेमध्ये अधिकांश बर्तमान सत्ताधारी र उतिबेलाको विपक्षी दल अवामी लिग पार्टीसँग आवद्ध थिए।
अदालतले दिएको यो फैसला सरकारको इच्छा बमोजिम भएको आरोप बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले लगाएका छन्।
‘हामी यो फैसला अस्वीकार गर्छौं,’ महासचिवले पत्रकारहरुसँग भने।
अदालतको फैसलालाई चुनौती दिइने जानकारी पार्टीका वकिल सनाउल्लाह मियाँले दिएका छन्।
‘हामी फैसलाविरुद्ध अपिल गर्नेछौं,’ उनले भने, ‘र, सबैजना बिना कुनै आरोप मुक्त हुनेछन् भन्नेमा हामीलाई विश्वास छ।’
(रोयटर्स)