२०८२, २७ माघ सोमबार
×

ट्रेन्डिङ

दशैँमा विदेशबाट घर आउदा यी सामान मात्र ल्याउनु होला, बाँकीमा कर लाग्न सक्छ

2002 Shares
Spread the love

काठमाडौं, असोज १८ दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छरु तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन भने कतिपयमा सीमितता तोकिएको छ। सीमितता तोकिएका सामान बढी ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने बाध्यता पर्न सक्छ।

विदेशबाट फर्किनेले खासगरी मोबाइल, टिभी तथा अन्य विद्युतीय सामान, गरगहना र मदिरा ल्याउँदा विचार पुर्याउनुपर्छ। यस्ता सामानमा सीमितता तोकिएकाले बढी भएमा कर्मचारीले जफत गर्न सक्छन्। विदेशबाट आउनेले भन्सार तिर्न पर्ने नपर्ने बस्तुहरुको सम्वन्धमा भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निजी गुण्टा, झिटी भारी सम्वन्धी व्यवस्था गरिएको छ। नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ। जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ।

त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ। विदेसिएकाले घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर एक–एक थान ल्याउन सक्नेछन्। सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ।

एक लिटरसम्मको मदिरा बोत्तलमा भन्सार शुल्क लाग्दैन। त्योभन्दा बढी परिमाणमा ल्याए जफत हुन सक्नेछ। नेपाल प्रवेश गरेको मितिले तीन महिना भित्र भन्सार गोदाममा सीमितभन्दा बढी ल्याएको सामान दाखिला हुनुपर्ने कार्यालयले जानकारी दिएको छ। टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ। पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट छ। डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ।

त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ। यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ। कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ। सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने कार्यालयले जनाएको छ। तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने छ।

प्रतिक्रिया